दमक । गौरादहको डिपु चोकबाट बैगुन्धुरा हुदै कोरोबारी जोड्ने सडक अलपत्र पारेको भन्दै यस सडकका उपभोक्ताहरुले आइतवार बेलुका राँके जुलुस निकाले । उनिहरुले सडक अवरोध समेत गरे ।
धुलाम्मे सडक बनाएर निर्माण ब्यवसायी अलपत्र भएका कारण आफुहरु आन्दोलनमा उत्रनु परेको स्थानीयहरुले बताएका थिए । यस बिषयलाइ लिएर अहिले गौरादहको राजनीति समेत तातेको छ ।
नागार्जुन विष्णु जेभी संगको सम्झौताको समय सिमा अनुसार सो सडक निर्माण आउँदो चैत्र महिनामा सम्पन्न गर्नु पर्ने रहेको बताईएको छ । ७ दशमलव ५ किलोमिटर कालोपत्रे सडक निर्माण सम्पन्न गर्न सडक डिभिजन कार्यालयले ५ करोड ७२ लाख ४२ हजार ८ सय रुपयाँमा ठेक्का लगाएको थियो ।
सडक डिभिजन कार्यालय दमकका प्रवक्ता एवं इन्जिनीयर माधव पौड्यालका अनुसार क्षेत्रिय तथा पर्यटकीय सडक अन्र्तगत बहुबर्षिय योजना अनुसार ठेक्का लागेपनि अहिले बजेट अभावले काम रोकिएको बताए ।
यो आर्थिक बर्षमा यो सडकका लागि कुनै बजेट नआएकाले समस्या भएको हो । यस्ता सडकहरु प्रदेश मातहतमा रहने गरीको परिपत्र आएकाले हामीले अहिले केहि गर्न सक्ने अवस्था छैन, पौड्यालले भने । उन अनुसार यो सडकमा करिब २५ प्रतिशत काम भएको छ ।
प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाइ समेत यसमा मुछ्ने प्रयास भएको पाईएको छ । कार्कीले यस बिषयमा आफुले कसैलाइ केहि नभनेको र आफुलाइ अर्मायादित रुपमा एउटा म्यासेज आएकाले त्यस बिषयमा उक्त ब्याक्तिसंग कुरा गरेको जनाएकाछन् ।
सडक धुलाम्मे र स्थानीयले पाएको सास्तिलाइ सडक डिभिजन एवं स्थानीय सरकारले सम्बोधन गर्नु पर्ने स्थानीयको मागलाइ पुरा गर्नु पर्छ, स्थानीय सामाजिक अगुवाहरुको भनाइ रहेको छ । नगरपालिकाले समेत यसमा प्रतिबद्धता जनाएको खबर आइसकेको छ ।










