धर्म परिवर्तनका लागि प्रचार गर्दै हिँडेका चार जनालाई वडाप्रहरी कार्यालय बुटवलले पक्राउ गरेको छ। पक्राउ पर्नेमा दुई जापानिज् र दुई जना नेपाली महिला छन् ।
बुटवल उपमहानगरपालिका वडा नं. १४ पदमपुरमा धर्म परिवर्तनका लागि स्थानीयको घर घरमा पुगेका उनीहरुलाई स्थानीयले नियन्त्रण गरी प्रहरीलाई खबर गरेका थिए।
पक्राउ पर्नेमा जापानिज् ४९ वर्षिय यासुको ओवा र ४४ वर्षिय मकिहिकुला छन्। त्यस्तै तिलोत्तमा नगरपालिका ५ की २५ वर्षिय पुष्पा घिमिरे र बुटवल सुख्खानगर बस्दै आएकी ३५ वर्षिय तिर्थमाया घले रहेको प्रहरीले जनाएको छ।
६ जनाको टोलीले घरघरमा पुगेर आर्थिक प्रलोभनमा पारेर धर्म परिवर्तनका लागि प्रचार गरेको अवस्थामा स्थानीयले वडा प्रहरी कार्यालय बुटवलमा जानकारी गराएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट क्रिश्चियन धर्मका पुस्तक तथा पोष्टरहरु फेला पारिएको प्रहरीले जनाएको छ ।
स्थानीय हरिशरण पाण्डेले एक घण्टासम्म निगरानी गरेर प्रहरीलाई खवर गरेको बताए । ‘हामीले सुईको पाएपछि निगरानी गर्यौं, भिडियो खिच्यौं र प्रहरीलाई खवर गरेका हौ,’ उनले भने।
पक्राउ परेका दुई जना नेपाली महिला मध्ये घले एजेन्ट रहेको र घिमिरे सहयोगी भएको प्रहरीले जनाएको छ। क्रिश्चियनको कार्यक्रममा पोखरा गएकी घलेले दुई विदेशी महिलालाई एक महिना अघि मात्र बुटवलमा ल्याएको बुझिएको छ ।
सुकुम्बासी बस्ती र दलित बस्तीमा घलेले विदेशी महिलाहरुलाई लैजाने र धर्म परिवर्तनका लागि प्रचार गर्ने गरेको पाईएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरू माथि थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक हेमबहादुर केसीले जानकारी दिए ।
सेतो पाटि बाट









