कञ्चनपुरमा मलामी बोकेर घर फर्किरहेको ट्याक्टर दुर्घटना भएको छ । बेदकोट नगरपालिका–४ बैतडाका ८४ वर्षीय नरीभान धानुकको महाकालीमा अन्त्येष्टि गरेर मालामी बोकेर घर फर्किरहेको से१त ५४२२ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।

आइतबार बिहान १२ः२० बजेतिर पुर्वपश्चिम महेन्द्र राजमार्गको बेदकोट नगरपालिका–७ भाँसी खोला नजिकै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । बेदकोट नगरपालिका–४ बैतडाका ३५ वर्षीय राजेन्द्र जाग्री र सोही ठाँउकै ३२ वर्षीय प्रेम सिंह धामीको घटना स्थलमै मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाकाली अञ्चल अस्पताल स्रोतका अनुसार जाग्री र धामीको अस्पताल ल्याउनुभन्दा अघि नै मृत्यु भइसकेको थियो । बेदकोट नगरपालिका–४ का १६ वर्षीय दिलिप भण्डारी, सोही गाउँकै २० वर्षीय दिपक धानुक, ३६ वर्षीय अजु धानुक, ५६ वर्षीय भक्तबहादुर महरा, १७ वर्षीय प्रकास जोशी, ३२ वर्षीय प्रेमसिह जाग्रीको महाकाली अञ्चल अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि भारतीय अस्पतालमा रेफर गरिएको छ ।

बेदकोट नगरपालिका–४ बैतडाकै २४ वर्षीय दयानन्द भट्ट, ३० वर्षीय जयराम जाग्री, ५५ वर्षीय मानसिक जाग्री, ६३ वर्षीय कल्यान सिह बोहरा, ३६ वर्षीय दिलबहादुर जाग्री, ३० वर्षीय प्रताप साउद र ३९ बर्षिय सिद्धमान साउनको महाकाली अञ्चल अस्पतालमै उपचार भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ । कञ्चनपुरका प्रहरी प्रवक्ता डिएसपी कृष्णराज ओझाले ओभरट्याक गर्ने जिप र टेक्टरका चालक प्रेम सिंह बोहरालाई नियन्त्रणमा लिएको बताए ।