काठमाडौँ कार्तिक १८ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । रारा भ्रमणबाट फर्किएका मेयर गिरीमाथि कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा शनिबार राति हातपात भएको हो । मेयर बसेको होटलमा बसेका काठमाडौँका युवाहरुको टोली र मेयरबीच विवाद उत्पन्न भएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको हो’, स्रोतले भने, ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल भएको हो ।’ हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए । उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने कार्य सुरु भएको बताए ।

यता मेयर गिरीले भने आफूमाथि कुनै कुटपिट नभएको प्रतिक्रिया दिएका छन् । मेयर गिरीले भने, ‘हामी रारा भ्रमणमा गएका थियौँ । अहिले सुर्खेत फर्कँदै छौँ, बाहिर हल्लामा आएजस्तो कुनै घटना भएको छैन। नेपालखबरबाट