काठमाडौं । वामपन्थी नेता, मानवअधिकारवादी एवम् पूर्वमन्त्री पद्यमरत्न तुलाधरको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गर्नुभएको छ । नेपालको कम्युनिस्ट आन्दोलनमा नेता तुलाधरले खेलेको भुमिकाको स्मरण गर्दै प्रधानमन्त्री ओलीले नेपालले एक अर्को क्षति व्यहोरेको बताउनुभयो ।

पूर्वमन्त्री तुलाधरको ८९ वर्षको उमेरमा आइतबार नर्भिक अस्पतालमा निधन भएको हो । उहाँ केही वर्षदेखि अस्वस्थ हुनुहुन्थ्यो । उहाँ पंचायतकालमा जनपक्षीय उम्मेदवार भई राष्ट्रियसभा सदस्य निर्वाचित हुनु भएको थियो । काठमाडौंबाट पंचायतपक्षका उमेदवारलाई अत्याधिक मतले पराजित गर्नु भएको तुलाधरले राष्ट्रिय पंचायत सभामै बहुदल माग्नु भएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

बहुदलीय व्यवस्थापछि २०४८ सालको संसदीय निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ४ बाट स्वतन्त्र वामपन्थी उमेदवार भई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभयो । २०५१ सालको मध्यावधि निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी(एमाले)बाट प्रतिनिधिसभा सदस्य बन्नु भयो । मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा उहाँ स्वास्थ मन्त्री हुनुहुन्थ्यो । अहिले नेपाल कम्युनिष्ट पार्टीले प्रयोग गरेको सूर्य चुनाव चिन्ह उहाँसँग लिएको हो ।