काठमाडौँ, १९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल नआउनु ठूलो समाचार नभएको टिप्पणी गरेका छन् । चियापान कार्यक्रममा लागि विराटनगर पुगेका प्रचण्डले मोदी पटक-पटक नेपाल आइसकेको भन्दै उनी नआउने कुरा ठूलो खबर नभएको बताएका हुन् ।

मोदी विवाह पञ्चमीको अवसरमा १२ डिसेम्बरमा जनकपुर आउने भनिएको थियो । तर, अहिले यो भ्रमण अनिश्चित भएको समाचार सार्वजनिक भएका छन् । ‘भारतीय प्रधानमन्त्री मोदी धेरै पटक नेपाल भ्रमणमा आइसक्नु भएको छ’, उनले भने, ‘यो पटक आउनुभएन् भने पनि त्यो कुनै ठूलो खबर होइन ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

साथै प्रचण्डले तत्काल मन्त्री हेरफेरको सम्भावना नरहेको बताए । तिहार लगत्तै केही मन्त्री फेरिने चर्चा चलिरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । उनले सरकारको कामकारवाहीको गति पनि बढाउने बताए । सरकार गियर फेरेर भए पनि गतिका साथ अगाडि बढ्ने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले अहिलेको सरकार विकास र समृद्धिको यात्रामा तीव्र गतिका साथ अगाडि बढ्ने बताए ।

नेकपाले विराटनगरमा आयोजना गरेको चियापान कार्यक्रममा सहभागी हुन प्रचण्डसहित महासचिव विष्णु पौडेल लगायतका नेताहरुसहित विराटनगर पुगेका छन् ।