विराटनगर– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षको बजेटमा ज्येष्ठ नागरिकका लागि पुग्ने गरी सामाजिक सुरक्षा भत्ता बृद्धि गरिने बताएका छन् ।

चुनावमा जाँदा वृद्धवृद्धाको भत्ता बृद्धि गर्ने भनेपनि वृद्धभत्ता नदिँदा ‘बुढाबुढी’हरु रिसाएको प्रचण्डको भनाइ छ । सोमवार मोरङको विराटनगरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रचण्डले चालू आर्थिक वर्षमै पनि बृद्धभत्ता बढाउने विषयमा छलफल चलिरहेको बताए । यो वर्ष हुन नसके आगामी आर्थिक वर्षमा बृद्धभत्ता बढाइने उनको भनाइ थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्ष प्रचण्डले जनतालाई ठूला–ठूला योजना र रणनीतिक महत्वका याेजनाको विषयमा बिस्तारै बुझाउँदै लगेपनि अहिलेका लागि सडकका खाल्डाखुल्टी पुर्ने कामलाई सरकारले प्राथमिकता दिने बताए । ‘प्रधानमन्त्री र मेरोबीचमा कुरा भएको छ । सडकका खाल्डा खुल्टी अब छिट्टै पुरिँदै छन्,’ प्रचण्डले भने, ‘सडकका खाल्डाखुल्टी पुरिएपछि कांग्रेसको विरोध गर्ने बाटो पनि बन्द हुन्छ । त्यसपछि कांग्रेसले के भन्दो रहेछ हेरौंला ।’

पार्टी एकताको विषय छिटोभन्दा छिटो टुंग्याइने अध्यक्ष प्रचण्डको भनाइ थियो । आफूले प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसँग छलफल भएको उल्लेख गर्दै प्रचण्डले भने, ‘तल्लो तहसम्मको पार्टी एकता अब छिट्टै टुंगिने छ ।’