आलोक यादव , सिरहा : जलस्रोत तथा सिँचाइ विकास डिभिजन र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय लहानबाट सार्न खोज्दा यहाँका दलका कार्यकर्ताले आइतबार ती कार्यालयमा तालाबन्दी गरेका छन् । तालाबन्दीका कारण दुवै कार्यालयका कामकाज ठप्प भएका छन् । लहानबाट जलस्रोत कार्यालय सिरहा सदरमुकाम र खानेपानी कार्यालय राजविराज सप्तरी सार्न खोज्दा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले तालाबन्दी गरेका हुन् ।

लहान नगर सभापति सुनिल कुमार महतोको नेतृत्वमा गएका नेता कार्यकर्ताले आइतबार जलस्रोत डिभिजन प्रमुखको कार्यकक्ष, योजना शाखा, प्रशासन फाँट तथा खानेपानी डिभिजन प्रमुखको कार्यकक्षमा ताला लगाएका छन् । जलउत्पन्न र सिँचाइ कार्यालयलाई गाभेर बनेका जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय लहानमा स्थापना गनुपर्ने सरकारले २०७५ भदौँ १० गते गरेको निर्णयमा उल्लेख छ । तर, सिँचाइ डिभिजन कार्यालय प्रमुखले कार्यालय सार्न खोजेको कांग्रेस नगर सभापति महताले आरोप लगाए । ‘आफ्नो सरकारी भौतिक संरचना छाडेर भाडाको घरमा कार्यालय सञ्ञ्चालन गर्नु उचित होइन,’ उनले भने, ‘यस प्रकरणमा कार्यालय प्रमुखको बदमाशी देखिएको छ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनप्रतिनिधिको पनि बिरोध

कार्यालय सार्न खोज्दा लहान नगरपालिकाका जनप्रतिनिधिले पनि विरोध जनाएका छन् ।

उनीहरुले कार्यपालिकाको बैठकबाटै कार्यालय यहाँबाट सार्न नदिने निर्णय गरेका छन् । ‘कार्यालय सार्न खोजेको जानकारी पाउनसाथ हामीले चासो देखाएका छौँ,’ मेयर मुनी साहले भने, ‘कुनै पनि हालत कार्यालय यहाँबाट सार्न दिँदैनौँ ।’उनका अनुसार सिँचाइ कार्यालयको समान त्यहाँबाट बाहिर नलग्नका लागि नगरपालिकाले उक्त कार्यालयमा सूचना टाँस गरेको छ ।

डिभिजन कार्यालय प्रमुख श्याम नन्दन यादवका अनुसार यो कार्यालय प्रदेश सरकारको अन्तर्गत रहेकाले प्रदेश सरकारको निर्णयानुसार सार्न लागेको बताए । ‘अहिले प्रदेश सरकारबाट हुने सबै पत्राचारमा स्थान सिरहा लेखेर आउँछ,’ उनले भने, ‘कार्यालय सार्ने आधिकारिक पत्र आइसकेको छैन ।

तर, पत्र आउन थालेपछि पटक पटक यस विषयमा प्रदेश सरकारसँग बुझ्दा सिरहामा कार्यालय सञ्चालन गर्न आदेश दिएको छ ।’ प्रदेश सरकारबाट आधिकारिक पत्र नआएसम्म लहानबाट सिरहा कार्यालय नसार्ने उनले बताए । उनका अनुसार सिरहामा ३ वर्ष पहिलेदेखि नै सिँचाई कार्यालय थियो । लहानबाट त्यस कार्यालय जल उत्पन्नको भाग जोडेर सिरहामा कार्यालय स्थापना गर्न लागेको छ । जलस्रोत कार्यालयमा डिभिजन प्रमुख यादवले हाजिरी गर्न समेत आउन छाडेको कर्मचारीहरुले सुनाए ।