डोल्पा : सोमबार जिप दुर्घटनामा मृत्यु भएका आफन्तका परिवारको आन्दोलनले उग्र रुप लिएको छ। मंगलबार आन्दोलनकारीले प्रहरीकै सुरक्षामा राखिएका ६ वटा जिपमा तोडफोड गरेका छन्।

मृतक र घाइतेका आफन्तले सदरमुकाम दुनैमा आन्दोलन चर्काएपछि तनाव भएको हो। गाडीधनी र जिल्ला प्रशासनका पदाधिकारीसँग वार्ता भएपछि शव लिन नमानेका आफन्त आन्दोलित भएका हुन्। अझैसम्म आफन्तले शव लिन मानेका छैनन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आन्दोलनकारीले गाडीमा ढुंगामुढा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिनका लागि अश्रुग्याससमेत प्रहार गरेको छ। मृतकका आफन्तले रुट परमिट लिएर मात्र गाडी चलाउनुपर्ने, सोमबार भएको दुर्घटनाको छानबिन गर्न समिति बन्नुपर्ने र मृतकका आफन्तले उचित क्षतिपूर्ति पाउनुपर्ने माग गरेका छन्।

बैठकमा कुरा नमिलेपछि मृतकका आफन्त आन्दोलित भएका हुन्। माग सम्बोधन गर्ने विषयमा अहिले जिल्ला प्रशासन कार्यालयमा पुनःवार्ता सुरु भएको छ।

प्रहरीले आन्दोलनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गर्दा घाम तापेर बसेका वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्। भिड नियन्त्रण गर्न अश्रुग्यास प्रहार गर्नु परेको प्रहरीको दाबी छ। डोल्पामा सोमबार जिप दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो। अन्नपूर्ण पोस्ट बाट