काठमाडौ महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले भनेका छन् कि ५ वर्षमा गर्ने काम उनले १ वर्षमै गरिसके । वाह ! मेयर साब ! क्या स्पीड छ तपाईको । मेयर साबले थप कुरा पनि भन्नु भएको छ, मेलम्चीको पानीले अल्मल्याएको मात्र हो नत्र स्मार्ट सिटी पनि बनिसक्थ्यो ।
एउटा कुरा चाही मेयर विद्यासुन्दर शाक्यको सहि हो कि सितापाइलामा हिलो र जोरपाटीमा फोहोर हुँदा पनि मलाई गाली किन गर्ने ? आउनुहोस्, आज काठमाडौंका मेयरले भनेका मात्र कुराको चर्चा गरौं । ५ वर्षमा हुने काम १ वर्षमै गरिसके भनेर मेयर साबले के भन्नु भएको होला, भनेर तिहारको यो झलमल्लमा अलमल परिहरनुभएका तपाई दर्शकहरुलाई छलंङ्ग हुने गरि केहि सीधाकुरा राख्न चाहन्छु ।
५ वर्षका काम एकै वर्षमा सक्ने सुपर म्यान मेयर विद्या सुन्दर शाक्यको चुनाबमा बोल्नु भएको होइन, लेख्नु भएको प्रतिबद्धताहरु हेरौँ । म बुँदागत रुपमा जान चाहान्छु ।
पहिलो बुँदामा भनिएको छ, मासिक सुरक्षा भत्ता ५ हजार रुपैयाँ बनाउने । मासिक सुरक्षा भत्ता ५ हजार बन्यो ? दोस्रो छ, घर घरमा अचच्मको सियो र घर घरमा गजबको चुलो कार्यक्रम शुर गर्ने । अचम्मको सियो खोइ कता खस्यो ? भुसको थुप्रोमा खस्यो कि के हो ? अनि अचम्मको चुलो हेरेर को को अचम्म पर्नु भो ?
अब अर्को बुँदा, सहि समय सहि ठाम नो ट्राफिक जाम । नारा गजबको छ, हिजो भर्खरको यी तस्वीरहरु । एउटा साधारण गोठमा जीवन बिताउने जनताको छोरा नन्दकिशोर पुन उपराष्ट्रपति त भए तर उनको निम्तो मान्न भिभिआइपी जाँदा बाटोको हालत यो तस्वीरमा ।
विद्यासुन्दर शाक्य ज्युको नारा फेरी सुन्नुस, सहि समय सहि ठाम, नो ट्राफिक जाम । यो नारा सुनेर मरिमरि हाँस्न म कता जाम ? अर्को बुँदा पनि छ । महानगर झिलिक्क, घर घर टिलिक्क । तिहारका २ दिन भिलिक्क हुने महानगरमा कुन रात कुन खाल्डोमा परेर कुन चाँही मानिसको ज्यान जाने हो ठेगान छैन ।
जञ्जाल मक्त सडक सञ्जाल अर्को बुँदामा छ, तारका गुुजुल्टाहरुको जंजालबाट मुक्ति पाइयो त ? क्लिन सिटी अभियान खोइ त ? नो मास्क सिटी बनाउने अभियान कहाँ पुग्यो ?
हेल्लो मेयर फास्ट रेस्पोन्स कार्यक्रम कुन रेडियो, टिभीमा कति बजे आउँछ मेयर ज्यु ? कार्यक्रम शुरु भएदेखि आजसम्म तपाईसँग प्रत्यक्ष कुराकानी गर्ने मेरो धोको नपुग्दै तपाईको पदावधि सकिने भइसक्यो ।
अर्को बुँुदा छ अपाङ्ग मैत्री पार्क निमार्ण । अपाङ मैत्री पार्क बन्यो ? कहाँ बन्यो, थाहा पाउन पाए जानु हुन्थ्यो । अर्को बुँदा २४ घण्टे जीवन्त शहरको योजना । माफ गर्नुस्, मेयर साब केही प्रहरीहरुलाई हल्का नजराना चडाएका केहि रेष्टुरेण्टहरु मात्र खुल्ला छन् शहरमा ।
यो कार्यक्रम सकिएपछि यो महानगरमा बस चडेर यतिखेर ९ पनि बजेको छैन, म कुन ठाँउमा गएर खाना खाएर बस नै चढेर घर फर्कन सक्छु ? यीत तपाइले लेखेका कुरा भए । भनेका केही कुरा पनि सुनाउ है त ।
१०० दिन भित्र विश्वकै नुमना शहर बनाउँछु भन्नु भएको थियो । हामीले सुन्नमा गल्ती ग¥यौं कि तपाईले भन्नमा मिस्टेक गर्नु भो कुन्नी तर वास्तविकता यस्तो रह्यो कि तपाईले १०० दिनमा विश्वकै नमुना शहर बनाउँछु भन्नु भयो हामीले १०० दिन भित्रै नमुना मेयर पयौं ।
विश्व कै नमुना ! नेपाल भाषालाई कामकाजको भाषा बनाउँछु पनि भन्नु भएको थियो । नेपाल भाषा कामकाजको भाषा बन्यो त ? नेपाल भाषा यात कामकाजे भाषाया ढुनला ? मेयर साब जी, नेवा भटिचा भटिचा सिउ । नेवा भाषा आटके कामकाजे भाषाया मजुला । यी सम्पुर्ण कुराहरुका बाबजुद पनि मेयर साबलाई ५ वर्षको काम एकै वर्षमा सके भन्ने लाग्छ भने अब के बाँकी रह्यो र मेयर साब आराम गराँै बाँकी ४ वर्ष ।
काम नै सकिएपछि किन अफिस जानु प¥यो र ? मेयर बन्ने रहर पनि पुगेको भए राजीनाम नै दिएर घर बसे अझ मर्यादित हुन्छ होला । छु विचार डु मेयर साब ?
न्यूज २४ नेपाल बाट










