दमक नगरपालिकाले वडा नम्बर ४ मा रहेको रत्न वृद्धा आश्रमलाई खाद्यन्न सहयोग गरेको छ । निजी क्षेत्रबाट सञ्चालित वृद्ध आश्रममा रहेका वृद्धवृद्धालाई तिहारको अवसर पारेर खाद्यन्न सहयोग गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले जानकारी दिनु भयो ।

आज विहान मेयर रोमनाथ ओली, उपमेयर गीता अधिकारी, प्रशासकीय अधिकृत तिम्सिना, ४ नम्बरका वडाध्यक्षसहितको टोलीले आश्रममै गएर खाद्यन्न सहयोग गरेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नगरपालिकाले चामल, फलफूल, मिस्री, कपडालगायतका सामग्रीहरु सहयोग गरेको थियो । आश्रममा गाइघाट, उर्लाबारी, सुरुङ्गा, दमक र स्कुलचौनका गरी ७ जना वृद्धवृद्धा छन् ।

बेलायतमा बसोबास गर्ने मनमाया सुनुवारले आफ्ना बुबाआमाको स्मृतिमा सञ्चालन गरेको आश्रममा छोराछोरी नभएका, परिवार नभएका एकल एवं असक्त वृद्धवृद्धालाई राख्ने गरेको आश्रमको हेरचाह गर्दै आउनु भएका रिता सुनुवारले बताउनु भयो ।

सहयोग हस्तान्तरण गर्दै मेयर ओलीले नगरभित्रका असहाय, असक्त वृद्धवृद्धालाई संरक्षण गर्ने नगरपालिकाको नीति बमोजिम आश्रमका बुबाआमालाई सहयोग गरेको बताउनु भयो । उहाँले आश्रमका वृद्धवृद्धाको नियमित स्वस्थ्य उपचार तथा अन्य भौतिक संरचना निर्माणमा पनि नगरपालिकाले सहयोग गर्ने बताउनु भयो ।