नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारका कामलाई प्रभावकारी बनाउन सरकारमा भएका मन्त्रीहरू फेरबदल गर्ने बताएका छन्।

प्रेस सेन्टर गण्डकी प्रदेश र प्रेस चौतारी गण्डकी प्रदेशले बुधबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा उनले प्रधानमन्त्रीले मन्त्रीहरूको काम सम्बन्धमा उनीहरूसँग छलफल गरेपछि काम हेरेर हेरफेर हुने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले सरकारले काममा भने गियर बदल्ने बताए । उनले सरकारले अब गियर बदल्दै छ, सरकारको गति बढाउन जे जे समस्या छ वा त्यस्ता केही नमिलेका तथा अपुग छन् भने त्यो मिलाएर अगाडि बढ्ने बताए । उनले ओली नेतृत्वको सरकारले जनताले अपेक्षा गरेजस्तै गरी काम गर्ने विश्वाससमेत व्यक्त गरे ।

वर्षाको समयमा खाल्डाखुल्डी पुर्न र बाटो निर्माणमा केही ढिलासुस्ती भए पनि अब चाँडै ती काम पनि हुने उनको भनाइ छ।

उनले नेपाल ल्याण्ड लक्ड (भूपरिवेष्ठित) देशबाट ल्याण्ड लिंक्ड कन्ट्री बन्न सफल भएको भन्दै यो सफलता वर्तमान सरकारकै कारण भएको उल्लेख गरे।

अध्यक्ष प्रचण्डले कर्मचारीका कारण नेपालमा राजनीतिक नेतृत्व र सरकार असफल हुनेगरेको आरोप लगाए।

राजनीतिक नेतृत्व र कर्मचारी नेतृत्व बीचको बुझाइमा एकरूपता नहुँदा नयाँ प्रणाली स्थापित हुन समय लागेको उनको भनाइ थियो ।