राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर जबराले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार गठन भएको ९ महिना बितिसक्दापनि अहिलेसम्म भनेजसरी काम गर्न नसकेको भन्दै असन्तुष्टि पोखेका छन् । उनले भने, ‘यत्रो ९ महिना बितिसक्यो, तर सरकारले काम देखाउन सकेन । दुई तिहाईको यत्रो शक्तिशाली सरकार छ, तर, सरकार अलमलिएको छ ।’
बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको देउसी–भैले कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै अध्यक्ष राणाले भने, ‘सरकारले किन काम गर्न नसकेको भनेर अहिलेसम्म मैले बुझेको छैन । यो कुरा रहस्यमय छ । दक्ष टिम नभएर हो वा अरु के कारणले हो मलाई थाहा छैन, तर सरकारले काम गर्न सकेन ।’
अध्यक्ष राणाले निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको भन्दै आक्रोश पोेखे । उनले भने, ‘सरकारले ब्यूरोक्रेसी हाँक्न सकेन ।’
फरक प्रसँगमा उनले अब तीन वटै राप्रपा एक हुनेगरि छलफल अघि बढाईएको पनि जानकारी दिए । उनले भने, ‘हामीबीच एकताको लागि सकारात्मक छलफल तथा सम्वाद जारी छ । तर, पार्टी एकता कहिले हुन्छ भनेर अवधि तोक्ने बेला भएको छैन । लोहनीजीसँग मेरो हिजो धेरै राम्रो कुराकानी भएको छ ।’
उनले नेपालको पहिचान नै हिन्दुराष्ट्र भएकोले देशलाई छिट्टै हिन्दूराष्ट्र बनाएरै छोड्ने दाबी गरे । उनले भने, ‘नेपाललाई हिन्दुराष्ट्र बनाएरै छोड्छु, मसँग सामथ्र्य पनि छ । र, आँटपनि छ ।’
दैनिक नेपाल बाट









