रुपन्देहीको तिलोत्तमा नगरपालिकाले गाईको पनि जन्म, बसाइ सराइ र मृत्यु दर्ता अनिवार्य गरेको छ । गाईको जन्म, बसाइ सराइ र मृत्यु दर्ता गराएबाफत किसानहरुले भत्ता पाउँछन् । तिलोत्तमा छाडा गाई बढ्दै जाँदा सडक दुर्घटना र किसानको बालीनालीमा नोक्सानी हुने समस्या रोक्ने उद्देश्यले यस्तो उपाय निकालेको हो । गाईको जन्म दर्ता, मृत्यु दर्ता र बसाइ सराइ गराउने किसानलाई नगरपालिकाले यातायात खर्चसमेत उपलब्ध गराउने छ ।

गाईको विवरण दर्ता गराउन वडा कार्यालय आउने किसानलाई प्रतिगाईको तीनसय देखि ५ सय रुपैयाँसम्म भत्ता दिइने नगरपालिकाले जनाएको छ । अब नगरपालिकाले गाई पालेका किसानको गोठ–गोठमा कर्मचारी खटाएर गाईको लगत लिने र दर्ता गराउने छ । तिलोत्तमामा व्यवसायीक गाई पालन बढ्दै गएसँगै छाडा गाईको संख्या पनि बढ्दै गएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

छाडा चौपायाका कारण नगरमा धेरै समस्या देखिन थालेपछि त्यसलाई नियन्त्रण गर्न नगरपालिकाले ‘छाडा पशु चौपाया नियन्त्रण तथा व्यवस्थापन कार्यविधि–२०७४’ पनि जारी गरेको छ । कार्यविधिमा घरपालुवा चौपाया बेबारिसे छाड्नेलाई पहिलो पटक बढीमा तीन हजार रुपैयाँसम्म जरिवाना गर्न सकिने उल्लेख छ ।

घर–गोठबाट पशु चौपाया हटाउने मनसायले त्यस्ता पशु चौपाया सार्वजनिक स्थलमा वेवारिसे अवस्थामा छाड्ने, छाड्न लगाउने कार्यमा संलग्न पशु चौपाया धनीको सूचना दिने व्यक्ति, संघ संस्थालाई त्यस्तो चौपाया धनीबाट असुल गरिएको जरिवानाको ५० प्रतिशत रकम पुरस्कार स्वरुप उपलव्ध गराउने व्यवस्था पनि नगरपालिकाले मिलाएको छ ।