ललितपुर । कैलालीको धनगढीमा रहेको दिनेश खबरकी समाचार संयोजक आर्जु हमालमाथि आक्रमण भएको छ । मंगलबार साँझ कञ्चनपुरको गुलरियाबाट रिर्पोटिङ सकेर धनगढी फर्कने क्रममा हमाल र उनीसँगै रहेका संवाददाता जनक विष्टमाथि आक्रमण भएको हो ।

उनीहरुमाथि कञ्चपुरकी अधिकारकर्मी शारदा चन्दको ‘मेरो कथा’ रेकर्डिङ सकेर फर्किरहेका बेला आक्रमण भएको हो । घर फर्कने बेला पूर्वपश्चिम मार्गमा पर्ने दैजीको सम्झना होटलमा नास्ता गरिरहेका बेला बेदकोट नगरपालिकाका स्थानीय केदार भनिने केशव विष्टको समूहले आर्जुमाथि यौन दुर्व्यवहार गर्न खोजेपछि विवाद भएको संवाददाता विष्टले बताएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवादपछि प्रहरी र स्थानीय जनप्रतिनिधिलाई खबर गरिएको थियो र केशव विष्टले आफ्नो गल्ती भएको भन्दै आर्जु र विष्टसँग माफी मागेका थिए।

घटनापछि दुवैजना पत्रकारलाई प्रहरीले स्कटीङ गरेर दैजीपुल सम्म पुगाएको थियो । तर त्यसभन्दा अली अगाडि कञ्चनपुरकै वाणीबाट मोटरसाइकलमा पिछा गर्दै आएका दुईजना युवाले गुलरिया चोक नजिक रोक्दै दुवैजनामाथि आक्रमण गरेका हुन् ।

‘दैजीमा लफडा गर्ने तै होस्’ भन्दै मोटरसाइकल रोकेर आफूहरुमाथि कुटपिट भएको विष्टले बताए ।

घटना लगत्तै गुलरिया प्रहरीलाई पनि खबर गरेको तर प्रहरी समयमै नआएपछि कुटपिट गर्नेहरु भाग्न सफल भएका उनले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले आक्रमणकारीको खोजी भइरहेको जनाएको छ । घटनाको नेपाल पत्रकार महासंघले विज्ञप्ति निकालेर निन्दा गरेको छ ।महिला खबर