काठमाडौं, २५ कात्तिक । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ठूला प्रदेशका नाम र राजधानी राख्ने विषयमा मतभिन्नता देखिएको छ । पार्टीका प्रदेश सभा सदस्यहरूबीच सहमति हुन नसक्दा प्रदेश १, ३ र ५ को नाम र राजधानी तोक्न सकिएको छैन ।
प्रदेश २ मा भने संघीय समाजवादी फोरम र राजपाको गठबन्धन सरकार छ । प्रदेश २ मा नेकपा ठूलो पार्टी भए पनि सांसद भने कम छन् । सोही कारण नेकपाले छठ सकिएलगत्तै प्रदेश १, ३ र ५ को नाम राख्ने तयारी गरेको छ ।सबैभन्दा ठूलो विवाद प्रदेश ३ मा रहेको छ । केन्द्रको राजधानीसमेत यसै प्रदेशमा रहेकाले सबैले प्रदेश ३ को नाम र राजधानीलाई प्रतिष्ठाको विषय बनाएका छन् । यही विषयलाई लिएर प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश मन्त्री केशव स्थापितलाई बर्खास्त गरिसकेका छन् । स्थापितले प्रदेश ३ को राजधानी काभ्रे बनाउन पहल गरेका थिए । तर, त्यस विषयमा मकवानपुर, चितवन, धादिङका सांसदले असहमति जनाउँदै आएका छन् ।
नेकपा स्रोतका अनुसार प्रदेश ३ को नाम ‘बागमती’ र राजधानी ‘काभ्रे’ राख्ने विषयमा शीर्ष नेताहरू सहमत भइसकेका छन् । खासगरी सञ्चारमन्त्री गोकुल बास्कोटाले काभ्रेलाई प्रदेश राजधानी राख्न प्रधानमन्त्री केपी ओलीलाई दबाब दिइरहेको बताइएको छ । प्रधानमन्त्री ओली मन्त्री बास्कोटाको कुरा हत्तपत्त काट्दैनन् ।
यस विषयमा प्रदेश ३ का मुख्यमन्त्री पौडेलको भने तीव्र असहमति रहेको बुझिएको छ । उनी प्रदेशको नाम ‘बागमती’ राख्न सहमत भए पनि राजधानी चाहिँ हेटौडा नै हुनुपर्ने अडानमा छन् । यदि यस विषयमा मुख्यमन्त्री पौडेल र प्रधानमन्त्री ओलीको राय बाझिएमा मुख्यमन्त्रीको पद धरापमा पर्ने नेकपाका नेताहरूको भनाइ छ ।










