विराटनगर : विराटनगरबाट नाम चलेका पाँच उद्योगी तासको खालबाट आइतबार विहान पक्राउ परेका छन् । उद्योगी चम्पालाल राठीको विराटनगर १ स्थित गोदाममा तास खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार ६९ वर्षीय राठी, ५० वर्षीय जीवन रिजाल, ५१ वर्षीय मुकेशकुमार अग्रवाल, विमल अग्रवाल र ३८ वर्षीय हंशराज जैन पक्राउ परेका छन् । आइतबार विहान करिव २ बजे उनीहरुलाई गोदामघरमा तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेकामध्ये राठीको स्वस्तिक जुट मिल सञ्चालनमा छ । जीवन रिजाल र मुकेश अग्रवालको साझेदारीमा चिउरा मिल र तोरी तेलको मिल सञ्चालनमा छ । विमल अग्रवाल धान चामलको कारोवार गर्छन भने जैन व्यवसायी हुन् ।

घटनास्थलबाट प्रहरीले १७ बुक ताससहित एक लाख ९० हजार एक सय ४० रुपैयाँ रकमसमेत बरामद गरेको छ । सुराकीको आधारमा जुवाखालमा छापा मारिएको जानकारी डीएसपी श्रेष्ठले दिए ।

त्यस क्रममा तास खेलिरहेका अन्य केही उद्योगी व्यवसायी भने भाग्न सफल भएका थिए । ‘लामो समयदेखि उद्योगी व्यवसायीले गोदामघरलाई तास खेल्ने अखडा बनाइरहेको सूचना आएको थियो,’ श्रेष्ठले भने, ‘त्यही सूचनाका आधारमा छापा मार्दा पाँचजनालाई पक्राउ गर्न सकियो ।’

पक्राउ परेका सबै जनाविरुद्ध आइतबार मुलुकी अपराध (संहिता) ऐन २०७४ को जुवा ऐन अन्तर्गत मुद्धा चलाउन म्याद थप गरेर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्ण पोस्ट बाट