झापा । भद्रपुरमा मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा भद्रपुर नगरपालिका–८ का २० वर्षीय किशोर प्रधान रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै दुर्घटना परी भद्रपुर–८ का २० वर्षीय प्रताप तामाङ र २६ वर्षीय आशीष राई गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार सोमबार केचना—चाराआली सडकखण्डअन्तर्गत भद्रपुर–४ झिलमिलीया पुल नजिकै दक्षिणीबाट उत्तरतर्फ आइरहेको मे ४ प ७७९५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो।
मोटरसाइकलमा तीन जना सवार रहेको बताइएको छ । दुर्घटनामा परी मोटरसाइकल चालक प्रधानको उपचारको क्रममा ओम साई पाथिभरा हस्पिटल भद्रपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार तीन जनाले नै मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले बताएको छ।










