विराटनगरका मेयर झण्डै ३ किलोमिटर दण्डवत् यात्रासहित छठपूजा गर्दै लोकान्तर संवाददाता कात्तिक २६, २०७५ विराटनगर – विराटनगर महानगरपालिकाका प्रमुख (मेयर) भीम पराजुली छठ पर्वका क्रममा सडकमा दण्डवत् यात्रा गर्दै पूजामा सहभागी हुने भएका छन् ।

यसअघि १४ पटकसम्म दण्डवत् यात्रा गर्दै छठ पूजामा सहभागी भएका मेयर यसपालि १५ औं पटक दण्डवत् प्रणाम यात्रा गर्दै छठ पूजामा सहभागी हुनेछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

धर्म संस्कृतिप्रति बढी नै आस्था राख्ने पराजुलीले हरेक वर्ष छठी माताको ब्रत बसेर दण्डवत् प्रणाम गर्दै सिँगिया नदी जाने तयारी गरेको मेयरका प्रेस संयोजक कौशल निरौलाले जानकारी दिए ।

हरेक वर्ष गर्दै आएको पूजाकर्मलाई यसपालि पनि मेयर पराजुलीले निरन्तरता दिने तयारी गरिरहेको उनले बताए । झण्डै ३ किलोमिटरको दूरीसम्म मेयर पराजुली सडकमा दण्डवत् प्रणाम गर्दै यात्रा गर्ने छन् ।

नदीसम्म पुगेर उनी पूजामा सहभागी हुने जनाइएको छ । मेयर पराजुलीले पोखरियास्थित शिव पाञ्चायन मन्दिरबाट मंगलवार दिउँसो साढे १२ बजे दण्डवत् प्रणाम यात्रा शुरू गर्ने उनले बताए ।