सुदुरपश्चिम प्रदेशको मन्त्रीसँगै पार्टीको साधरण सदस्यसमेतबाट हटाइएका सामाजिक विकास मन्त्री दिर्घ सोडारीले पार्टीभित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको दावी गर्नुभएको छ । मंगलबार सोडारीलाई मन्त्रीबाट बर्खास्त गर्नुका साथै पार्टीको साधरण सदस्यबाट समेत नरहने गरी निश्काशन गरिएको थियो ।
‘मलाई मन्त्री भएको कुरा सुरुदेखि नै एउटा खेमालाई चित्त बुझेको थिएन । त्यही बेलादेखि मेरा विरुद्ध विभिन्न बहाना बनाइँदै थियो,’ सोडारीले भन्नुभयो । आफू पार्टीको इमानदार कार्यकर्ता भएको दाबी पनि सोडारीको छ । सोडारीमाथि पदीय मर्यादा विपरित आचरण गरेको आरोप लगाइएको छ । पछिल्लोपटक मन्त्री चढ्दै आएको स्कारपियो गाडी भाइटीकाको दिन दुर्घटना भएपछि सोडारी थप विवादमा तानिएका थिए ।
मन्त्रीबाट हटाइएका दीर्घ सोडारी थप पार्टीको कारबाहीमा परेका छन् । नेकपाको सुदूरपश्चिम प्रदेश कमिटी बैठकले उनलाई कारबाही गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरेको हो । मंगलबार बेलुका बसेको प्रदेश कमिटीका पदाधिकारीको बैठकले पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गरेको नेकपाका प्रदेश अध्यक्ष कर्ण थापाले बताउनु भयो ।
‘प्रदेश पदाधिकारी बैठकले उनलाई अनिश्चित कालसम्म पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारबाही गर्ने निर्णय गरेको छ,’थापाले भन्नुभयो, ‘पार्टीको नीतिअनुसार काम नगरेको पाइएपछि हटाइएको हो ।’ नेकपाका प्रदेश इन्चार्ज भीम रावलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा स्थायी समिति सदस्य लेखराज भट्टसमेत उपस्थित हुनुहुन्थ्यो । तत्कालीन एमाले कैलालीका अध्यक्ष रहनुभएका सोडारी पार्टी एकीकरणपछि प्रदेश कमिटी सदस्यमा कार्यदलको सिफारिसमा पर्नुभएको थियो ।
मंगलबार नै मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई सामाजिक विकास मन्त्रीबाट बर्खास्त गरेका थिए । उनको ठाउँमा नेकपाका सांसद कृष्णराज सुवेदीलाई नियुक्त गरेको छ । पदीय मर्यादाअनुरुप आचरण नदेखिएको भन्दै पार्टी नेतृत्वको निर्देशनपछि मुख्यमन्त्री भट्टले सोडारीलाई बर्खास्त गरेका हुन् ।
‘पदीय मर्यादाको आचरणमा रहेर काम गर्न नसकेपछि बर्खास्त गरिएको हो,’ मुख्यमन्त्रीले भन्नुभयो, ‘संसदीय प्रकृयामा यसलाई स्वाभाविक लिनुपर्छ ।’ उनी पार्टीभित्र विवादित बनेपछि मन्त्रीबाट हटाउने बारे सोमबार प्रधानमन्त्री, मुख्यमन्त्री भट्ट, नेकपाका प्रदेश इन्चार्ज भीम रावल, प्रदेश अध्यक्ष कर्ण थापाबीच छलफल भएको थियो ।
मन्त्री भएपछि अनुचित आर्थिक लाभ लिएको, योजना छनौटमा आफू निकट कार्यकर्तालाई ध्यान दिएको, आपराधमा संलग्नलाई संरक्षण गरेको, शक्तिको दुरुपयोग गरेको, महिलामाथि दुव्र्यवहार गरेको लगायत विषयमा सोडारीविरुद्ध प्रधानमन्त्रीसम्म सुचना पुगेको थियो ।
मन्त्रीविरुद्ध गुनासो र उजुरी बढ्दै गएपछि छलफल गर्न प्रधानमन्त्री ओलीले मुख्यमन्त्री भट्टलाई बोलाउनु भएको थियो । सोमबार बिहान काठमाडौं पुगेर भट्टले प्रदेश इन्चार्जको उपस्थितीमा प्रधानमन्त्रीसँग छलफल गर्नुभएको थियो । मन्त्रीबाट बर्खास्त भएका सोडारीपछि नियुक्त भएका मन्त्री सुवेदीले मंगलबार नै पद तथा गोपनियताको सपथग्रहण गरी कार्यभार सम्हाल्नु भएको छ । जनता टाइम्स बाट










