काठमाडौंः नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका अध्यक्ष प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलका तस्विरमा नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।
केही दिन पहिले प्रचण्ड, उनकी पत्नी सिता र गृहमन्त्री बादलले म्याग्दीको तातोपानीमा नुहाएको तस्विर सार्वजनिक भएको थियो । तस्विर सार्वजनिक भएसँगै सामाजिक संजालमा विभिन्न तर्क भइरहेका छन् । प्रचण्ड आफ्नी पत्नी सीता र छोरी गंगा दाहालसहितका आफन्तसँग कुण्डमा स्नान गर्न पुगेका हुन्।
प्रचण्ड र उनकी पत्नी अझै केही दिन कुण्डमा स्नान गर्ने बताइएको छ। प्रचण्डपत्नी पटक–पटक बिरामी भइरहेकी छिन्। उनको उपचारका लागि नै प्रचण्ड तातोपनिमा नुहाउन गएको बताइएको छ ।
प्रचण्डको तस्विरका बारेमा विभिन्न खालका टिप्पणी भइरहेका बेला शर्माले भने राजनीतिकर्मीको पनि व्यक्तिगत जीवन हुने भन्दै नकरात्मक टिप्पणी गर्न नहुने बताएका छन् ।
सामाजिक संजाल ट्वीटर मार्फत शर्माले तस्विरप्रतिका नकरात्मक टिप्पणीलाई गलत भनेका छन् । ‘राजनीति कर्मिको पनि ब्यक्तिगत जीवन हुन्छ, मन हुन्छ, रुची, सोच, भावना, विश्वास, खुशी र स्वतन्त्रता हुन्छ,’ शर्माले भनेका छन्, ‘ अतः गलत छन् सबै, यो तस्वीर प्रति नकारात्मक ‘बौद्धिक’ टिप्पणीहरु !’











