काठमाडौं – एक वर्षअघि देखि स्मार्ट लाइसेन्स कुरेर वसेका चालकहरुले अवको दुई महिनामा स्मार्ट लाइसेन्स पाउने भएका छन् । यातायात व्यवस्था विभागले छपाइको काम एक महिनाभित्र सकिएपनि वितरण गर्दा लगभग दुई महिना लाग्ने वताएको छ ।
विभागसँग भएका प्रिन्टिङ मेसिनमा आएको खराबी तथा एउटै नम्बरका ६ हजार लाइसेन्स दोहोरिएका कारण पनि दुई महिना कुर्नुपर्ने भएको हो । विभागसँग हाल पाँचवटा मात्रै प्रिन्टिङ मेसिन छन् । ती मेसिनमा दैनिक २ हजार ५ सयप्रति मात्रै कार्ड छापिन्छन् । माग भने दैनिक ५ हजारको हाराहारीमा छ ।
विभागले भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएको लाइसेन्स छाप्ने मेसिनले लाइसेन्स छाप्दै आएको थियो । माग पूर्ति गर्न नसक्दा विभागले निजी कम्पनी मालिका इनकर्पाेरेटलाई पनि लाइसेन्स कार्ड छाप्न दिइएको छ ।
सरकारले निजी कम्पनीमार्फत कार्ड छपाइ गर्दा प्रतिकार्ड १५ रुपैयाँ बढी तिर्नुपर्छ । यस आधारमा सरकारले ६ लाख कार्डको ९० लाख रुपैयाँ वढि तिर्नु पर्दछ ।
अहिलेसम्म साढे ५ लाख स्मार्ट लाइसेन्स वितरण भइसकेको विभागले जनाएको छ । विभागका अनुसार सरकारले सेना, प्रहरी, विदेश अध्ययन गर्न जाने विद्यार्थी तथा विदेशमा काम गर्न जाने चालकका लागि तुरुन्तै लाइसेन्स उपलब्ध गराएको छ । त्यस्ता व्यक्तिले तुरुन्तै लाइसेन्स प्राप्त गर्न सक्छन् । यसका लागि आवश्यक प्रमाण भने पेस गर्नुपर्नेछ ।










