काठमाडौँ, ३० कार्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टा जहाज कुरेर फर्किनु परेको छ । चितवनको कार्यक्रममा सहभागी हुन जान लागेका प्रचण्ड जहाज समयमा नउडेपछि कार्यक्रम स्थगित गरेर फर्किएका हुन् ।
उनी जिल्ला समन्वय समिति चितवनले आयोजना गरेको स्थानीय पूर्वाधार विकास साझेदारी सम्बन्धि परामर्श बैठकमा सहभागी बिहान १० बजे बुद्ध एयरको जहाजमा चितवन जाने तय भएको थियो । त्यही अनुसार प्रचण्ड विमानस्थल पुगेका थिए ।
तर, जहाज बिहान ११ बजेसम्म पनि नउडेपछि प्रचण्ड फर्किन बाध्य भएका हुन् । उनी बुद्ध एयरकै जहाजमा दिउँसो ३.१५ बजे चितवनबाट काठमाडौँ फर्कने योजना थियो ।
प्रचण्डको पत्रकार सम्मेलनका लागि भरतपुर विमानस्थल पुगेका पत्रकार तथा उनको स्वागतका लागि पुगेका कार्यकर्ताहरु पनि एक घण्टा कुरेर फर्किएका थिए । प्रचण्ड चितवन ३ का निर्वाचित प्रतिनिधिसभा सदस्य पनि हुन् ।
विमानस्थलमा एक घण्टा बस्दा पनि जहाज नउडेपछि काठमाडौंमा रहेको अर्काे कार्यक्रमलाई समेत प्रभावित हुने देखेर प्रचण्ड फर्किएका उनको पारिवारिक स्रोतले जनाएको छ ।
बुद्ध एयरले हवाई ट्राफिकका कारण समयमा उडान गर्न नसकेको जनाएको छ । प्रचण्ड आधा घण्टा बसेर फर्किएको एयरलाइन्सले जनाएको छ । प्रचण्ड जाने भनेको जहाज झण्डै १२ बजेमात्र उडेको थियो । दैनिक नेपाल बाट










