काठमाण्डु, २ मंसिर – सर्लाहीमा सार्वजनिक बलात्कारविरुद्ध बोल्ने सांसद कुटिएका छन् । कविलासी नगरपालिका–६ मदनपुरमा शुक्रबार बसेको पञ्चायतीमा नै एक युवतीलाई बलात्कार गर्नुपर्ने आवाज उठेपछि राष्ट्रियसभा सदस्य रामप्रित पासवानले त्यसको विरोध गर्दा कुटिएका हुन् ।मदनपुरको रामप्रसाद रायकी ११ मा पढ्दै आएकी छोरी पुनितकुमारी गत कात्तिक २८ गते घरबाट भागेकी थिइन् । तर पनि भगाउने केटाको पहिचान खुल्न नसकेपछि स्थानीयहरुले समेत सोही गाउँका सन्तोष रायमाथि केटी भगाएको आरोप लगाएका थिए ।

स्थानीयको आग्रहमा विवाद सुल्झाउन सांसद पासवानलाई पनि बोलाइएको थियो । सन्तोषले केटी भगाएको कुनै प्रमाण सो पञ्चायतीमा पेश भएको थिएन । स्कुलमा सँगै पढेको र राम्रो सम्वन्ध भएकाले शंकाको भरमा सोधपुछ गरिएको थियो । सन्तोषले आरोप स्वीकार गरेनन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पञ्चायतीले ‘यदि केटी भगाएको रहेछ वा कहाँ छ भन्ने थाहा भए दुई दिनभित्र उपस्थित गराउनुपर्ने’ निर्णय सुनायो । तर, केटी पक्षका फेकन रायले सो निर्णय नमान्ने बताए । उनले यदि दुई दिनभित्र पुनितलाई उपस्थित नगराए सन्तोषकी अविवाहित बहिनीलाई सार्वजनिक रुपमा बलात्कार गर्नुपर्ने माग राखे ।

‘मैले तत्काल त्यसको विरोध गरेँ । यस्तो अपराधिक सामाजिक कुरा नगरौं भन्दा अरु एक दुई जना बोले’ सांसद पासवान भन्छन्, ‘पञ्चायतमा भएका अरु उल्टै ममाथि जाइलागे ।’

बलात्कार गर्नुपर्ने मागको विरोध गर्दा आफूमाथि गालीगलौज गर्दै कुटपिट भएको उनको गुनासो छ । घटनामा सन्तोषको कुनै भूमिका नभए पनि दलित भएकै कारण उनीमाथि आरोप लगाइएको र आफूमाथि पनि दलित भएकै कारण कुटपिट भएको उनले बताए ।

उनले सार्वजनिक बलात्कारको विषय डरलाग्दो भएकाे भन्दै महिला अधिकारकर्मीहरुसँग गुहार मागेका छन् ।