काठमाडौँको गोंगबुस्थित बसपार्क क्षेत्रमा अघिल्लो सोमबार (२६ कार्तिक) प्रहरीको भागदौड थियो। साईरन बजाउदै गाडीहरु यताउता दौडिरहेका थिए। लक्ष्मीनगर क्षेत्रमा आवतजावत रोकिएको थियो।

एकैटिनमा सेनाको बम डिस्पोजल टोली आइपुग्यो। त्यहाँ बम राखिएको रहेछ। सेनाले बम निस्कृय बनाएको हेर्न ठूलै भीड जम्मा भयो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

काठमाडौँको टोखा नगरपालिकाभित्रको लक्ष्मीनगरमा देखिएको ठीक यस्तै दृश्य बिहीबार (२९ कार्तिक) नेपालगञ्ज उपमहानगरपालिकामा पनि देखियो।

नेपालगञ्जको पुष्पलाल चोकमा राखिएको शंकास्पद वस्तुका कारण त्यहाँ समेत काठमाडौँकै अवस्था सृजना भयो। स्थानीयहरुमा त्रास फैलियो।

यी दुबै घटना ९६ घण्टाभित्र भएका थिए। र, दुबै घटनाका मुख्य योजनाकार एउटै युवा थिए, जसले समाजमा त्रास फैलाएर आफू स्थापित हुने चाहना अनुसार काठमाडौँ र नेपालगञ्जमा बम राखेको हल्ला फैलाएका रहेछन्।

प्रहरीको बिशेष ब्युरोको सक्रियतामा नेपालगञ्जबाट पक्राउ परेका २७ बर्षीय प्रदीप वलीको उपनाम ‘दयालु’ हो। जाजरकोटको नलगाड नगरपालिका स्थायी ठेगाना भएका उनी लामो समय भारतमा मजदुरी गरेर फर्किएका हुन्।

उनी आफूलाई ‘हामी नेपाली, हाम्रो नेपाल’ नामको संगठनको अध्यक्ष भएको बताउँछन्। उनले किन बम आतंक फैलाए भन्ने बारेमा बाँके प्रहरीले बयान लिइरहेको छ।

‘समाजमा आतंक फैलाउने उद्देश्य रहेको देखिन्छ, हामी सोधपुछ गरिरहेका छौं’ बाँके प्रहरी प्रमुख अरुण पौडेलले भने, ‘संगठनका अन्य सदस्यका बिषयमा समेत सोधीखोजी भइरहेको छ।’

गंगबुस्थित प्रहरी प्रभागको नम्बरमा एकजना अज्ञात ब्यक्तिबाट सोमबार (२६ कार्तिक) लक्ष्मीनगरमा मोरङ रतुवामाईको कुलप्रसाद सुबेदीले संचालन गरेको ‘पूर्बेली चन्द्रमा गेष्टहाउस’ मा हातहतियार र बिस्फोटक पदार्थ रहेको सूचना आएको थियो। फोनगर्ने युवाले होटलको तेश्रो तलाको ७ नम्बर कोठामा हातहतियार र बिस्फोटक पर्दाथ रहेको सूचना दिएको थियो।

प्रहरीले कोठामा विभिन्न राजनीतिक पुस्तक, केरमेट गरिएका नक्साहरु र कारवाहीका विवरण सहितको डायरी फेला पारेको थियो।

प्रहरीलाई आफू एकैछिनमा घटनास्थलमा आउने बताउँदै फोन गर्ने त्यो युवाले नागढुङ्गा नाघेपछि मोबाइल स्वीच अफ गरेको थियो।

‘हामीले कोठामा फेला पारेको एउटा कागजमा उल्लेखित फोन नम्बर र हामीलाई गरेको फोन नम्बर एउटै भएपछि उनको खोजी तीब्र पारेका थियौँ’ काठमाडौँ प्रहरी प्रमुख बसन्तकुमार लामाले भने, ‘हामीले उपलब्ध विवरण सहित बिशेष ब्युरोमा जानकारी दिएका हौँ।’

प्रहरीले फेला पारेको शंकास्पद वस्तु सेनाको टोलीले डिस्पोज गरेको थियो। उता, ती शंकास्पद युवालाई प्रहरीको बिशेष टोली पछ्याउँदै थियो। ब्युरोको टोलीले उनको लोकेशन बाँकेमा देखेपछि सक्रियता बढाइरहेका बेला बिहीबार बिहान पुष्पलाल चौकमा बम भेटिएको थियो।

ब्युरोको टोलीले ‘दयालु’ को लोकेशन पत्ता लाग्नासाथ बाँके प्रहरीलाई जानकारी दियो। प्रहरीको करिब ९६ घण्टाको सक्रियतापछि दयालु पक्राउ परे।

प्रहरीले उनलाई हातहतियार तथा बिस्फोटक पर्दाथ कसुरमा म्याद लिएर थप अनुसन्धान गरिरहेको छ।