पाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले पाँच वर्ष भित्र चितवनलाई सबैले गर्व गर्न लायक र संसारले हेर्ने पर्ने विकासको मोडलको रूपमा उभ्याउन सकिने बताएका छन् ।

भरतपुर महानगरपालिका–२४ को नवनिर्मित वडा कार्यालय भवनको  उद्घाटन तथा वातावरणमैत्री वडा घोषणा कार्यक्रममा प्रचण्डले आफू यस जिल्लाको प्रतिनिधिका साथै आफ्ना राष्ट्रिय जिम्मेवारी पनि भएकाले माथिबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले नारायणी जलमार्ग तथा पूर्वपश्चिम रेलमार्गका सम्भाव्यता अध्ययनको समेत तयारी भैरहेको बताए ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले भने, “म आफू चितवनको जनप्रतिनिधि भएकाले पनि चितवनको विकासमा मेरो चिन्ता र चासो बढी नै छ । चितवन, अनि समग्र देशको विकास र समृद्धिमा लाग्नुको विकल्प छैन ।”

अध्यक्ष दाहालले विगत १२-१५ महीनामै भरतपुर महानगर र सिङ्गो चितवन जिल्लाको विकास तीव्र गतिमा भइरहेको बताए ।

भरतपुर महानगरपालिकाले अगाडि बढाएको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान र सिटी हल छिट्टै बन्ने बताउँदै प्रचण्डले भने, “माडी–ठोरी केरूङ सडकको काम पनि अगाडि बढ्छ ।”

सुकुम्बासी समस्या समाधान हुने

त्यस्तै अध्यक्ष प्रचण्डले अव्यवस्थित बसोबास र सुकुम्वासी समस्याको उचित समाधान गर्न सरकार गम्भीर भएर लागेको बताएका छन् ।

सुकुम्वासी समस्या समाधान गर्न नीतिगत छलफल भइरहेको बताउँदै प्रचण्डले सुकुम्वासी समस्या छिट्टै समाधान हुने कुरामा आफू विश्वस्त रहेको बताए ।

कम्युनिष्ट पार्टीको शक्तिशाली सरकारले विकास नगरे अरू कसैले पनि गर्न नसक्ने बताउँदै अध्यक्ष दाहालले भने, “समृद्ध नेपाल, सुखी नेपालीको सपना यही सरकारले साकार गर्नेछ ।”

यसै वर्षबाट नारायणी र राप्ती नदीको तटबन्ध शुरु हुने उनको भनाइ थियो । अध्यक्ष दाहालले राप्ती र नारायणी नदीको तटबन्धसहितको चक्रपथको विस्तृत अध्ययन प्रतिवेदनको काम यसै वर्षबाट शुरु हुने बताए ।

भरतपुर-२४ वातावरणमैत्री वडा

कार्यक्रममा भरतपुर महानगरप्रमुख रेनु दाहालले भरतपुर–२४ ले वातावरणमैत्री वडा घोषणाका सम्पूर्ण मापदण्ड पूरा गरी वातावरणमैत्री वडा घोषणा गराउन सफल वडावासीलाई धन्यवाद दिँदै अन्य वडालाई पनि क्रमशः वातावरणमैत्री वडा घोषणा गर्दै जाने बताइन् ।

भरतपुर महानगरलाई नमूना बनाउन लागिपरेको भन्दै महानगरप्रमुख दाहालले भनिन्, “भरतपुर महानगरपालिका महत्वकाङ्क्षी योजनाका साथ अगाडि बढिरहेको छ, ती योजनालाई सम्पन्न गर्न हामी अग्रसर भएर लागिरहेका छौँ ।”

उनले थपिन्, “सिटी हल निर्माण, रिंगरोड, लिंकरोडका कामहरू तीव्र गतिमा अगाडि बढिरहेका छन् ।” उक्त कार्यक्रम भरतपुर–२४ का वडाध्यक्ष कान्छा मल्लको अध्यक्षतामा सम्पन्न भएको हो । रासस