एक दशकभित्र सक्रिय राजनीतिबाट सन्यास लिँदै देशलाई विकासको गतिमा अघि बढेको देख्ने नेपाल कम्युनिस्ट पार्टीका दोस्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको रहर छ । उनले कतिपय कार्यक्रम र सार्वजनिक सभामा पनि आफ्नो चाहनालाई अभिव्यक्त गरेका छन् ।
नेकपाको बलियो र प्रभावकारी पिल्लरका रूपमा रहेका प्रचण्डको यो विश्रामपछि उनको परिवारबाट राजनीतिको विरासत कसले थाम्ला ? वा, कसलाई उनले अगाडी बढाउलान् भन्ने धेरैले अनेकथरी अड्कलबाजी काटेका छन् ।
तर सोही परिवारभित्र परिस्थिति, राजनीतिक गतिले केही पात्रबीच विरासतको दौड र स्पर्धा अहिलेदेखि नै देखाउन थालेको छ । प्रकाश दाहाल जीवित हुँदा निश्चय नै १० बर्षभित्र उत्तराधिकारी राजनीतिज्ञ बन्ने र बनाउने विषयमा शंका हुने थिएन । तर, उनको गैरउपस्थितिमा कस–कसको स्पर्धा चलिरहेको छ ?
पार्टीका विभिन्न कमिटीमा रहेका ज्वाई सागर तिमल्सिना, छोरी रेणु दाहाल, गंगा दाहाल र बुहारी बिना मगर (खानेपानी) मन्त्रीको विकल्प प्रचण्डसँग छैन । गंगा स्वकीय सचिव छिन्, रेणु चितवन महानगर प्रमुख र सागर सभामुखका सहयोगी ।
यी मध्ये पनि प्रचण्डले उत्तराधिकारीका रूपमा रेणुलाई अघि बढाउने गरी सक्रिय छन् । आफ्नो क्षेत्र पनि रहेका कारण चितवन महानगरपालिकामा नेपाली कांग्रेससँगको गठजोडमा मेयर पदमा रेणुलाई जिताएका थिए । अहिले हरेक हप्ता कम्तिमा २ पटकसम्म चितवन पुग्ने प्रचण्डले त्यहाँ प्रभाव छाड्नका लागि महानगरलाई क्रियाशील बनाइरहेका छन् । केन्द्रको सहयोग र बजेट विनियोजनदेखि विकासे काममा पनि छोरीलाई सहजीकरण गरिदिएका प्रचण्ड रेणुलाई अगाडी बढाउन चहान्छन् ।
छोरा प्रकाशलाई स्वकीय सचिवालयको जिम्मा दिएका बेला ०७० सालको संविधानसभाको निर्वाचनमा काठमाडौं–१ बाट रेणुलाई उनले संविधानसभा सदस्यको उम्मेदवार बनाएका थिए । तर, उनले जित निकाल्न सकिनन् । रेणुको राजनीतिक धरातल कमजोर बन्दै गएपछि स्थानीय तहको निर्वाचनका बेला भने महानगरको टिकट दिनेमात्र होइन, जिताउने जिम्मा नै प्रचण्डले लिए । रेणुको जितका लागि नै उक्त मतगणनाका क्रममा मतपत्र च्यात्ने, मुद्दामामिला गर्नेसम्मको काम भएको थियो । अन्ततः शक्तिको प्रभावमा सबै झुक्दा रेणुलाई जिताएर राजनीतिमा अगाडी बढाउने प्रचण्डको योजना सफल भएको थियो ।
‘भाई नारायण दाहाल वा भतिज समिर दाहालको मात्र उनी भर पर्न सकेनन् । त्यसकारण छोरीलाई सोही क्षेत्रमा सक्रिय बनाएर राजनीतिक विरासत थमाउने उद्देश्य पालेका हुन्’, प्रचण्डलाई नजिकबाट चिन्नेहरू भन्छन्,‘परिवारका अन्य सदस्यलाई पनि उनले राजनीतिमा सक्रिय बनाउन भिटो प्रयोग गरेका छन् ।’
प्रकाशको ‘सडेन डेथ’बाट भने प्रचण्ड परिवारमा फेरिएको भूमिकाले कसले पहिला खुमलटारको बिँडो थाम्ने भन्ने आन्तरिक स्पर्धाचाहीँ चलेकै छ । कञ्चनपुरबाट प्रतिनिधि सभामा चुनाव लडेकी बिना मगरको जित र यो सरकारमा केन्द्रीय मन्त्रीको जिम्मेबारीले राजनीतिक कद रेणुको भन्दा बलियो भएको कतिपय बताउँछन् ।
‘बिना मन्त्री भएर पनि क्वार्टरमा बसिनन् । उनी खुमलटारमै बस्छिन् । घरमा बसेर पारिवारिक र मन्त्रालयमा बसेर देशभरको राजनीतिमा उनको पहुँच बढाउने काम भइरहेको छ’, स्रोतले भन्यो,‘पार्टीमा पनि रेणुको भन्दा उचित र महत्वपूर्ण जिम्मेबारी उनले पाउनेछिन् । रेणु महानगरका कार्यकर्तामाझ भिजिरहेकी छन्, बिनाले देशभरका कार्यकर्ताको अभिमतलाई जम्मा पारिरहेकी छन् ।’
उनका हिसाबले रेणुलाई बिनाले प्रचण्डको उत्तराधिकारी बन्ने विषयमा उछिनेकी छन् । कारण, खुमलटारसँग जोडिने अनेक प्रकारका शक्ति केन्द्रसँग रेणुको भन्दा बिनाको सिधा पहुँच छ । ‘मन्त्री भएकै कारण भरतपुरबाहेकमा बिनाको प्रभाव त्यसै बलियो छ’, स्रोतले भन्यो,‘परिवारका अन्य सदस्यका हिसाबमा राजनीतिक, सार्वजनिक र प्रशासनिक पद पनि उनले समयमा नै हात पारिसकेकी छन् । अब, आफ्नो बाटो उनले तय गरिसकिन् ।’
रेणुलाई भने प्रचण्डको राजनीतिक विरासत, काका नारायणको राजनीतिक हैसियतले पनि ओझेलमा पार्ने सम्भावना रहेको कतिपयले केलाएका छन् । प्रचण्डनजिकका पुराना कम्युनिस्ट नेता भन्छन्,‘परिवारमा भिटो पावर भएको व्यक्तिले मात्र अघि बढाएर राजनीतिक विरासत पाउन सकिँदैन, त्यसका लागि मैदानमा लड्नसक्ने क्षमता एकल हुनुपर्छ ।’ दैनिक नेपाल बाट










