काठमाडौ– सरकारले राष्ट्रपति जस्तो सम्मानित संस्थालाई बद्नाम गर्न खोजेर लोकतन्त्रलाई नै कमजोर बनाउने खेल भएको बताएको छ । राष्ट्रपतिलाई १८ करोडको गाडी किन्न लागिएको प्रकरणमा राष्ट्रपति र सरकार तीब्र आलोचना भइरहेको बेला सरकारका प्रवक्ता समेत रहेका सुचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत गाडी खरिदबारे पूर्वाग्रह ढंगले गलत टिप्पणी भइरहेको दाबी गरे ।
गाडी खरिद प्रकरणबारे सञ्चारमाध्यममा आएका लेख, सम्पादकीय र समाचारप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले गाडी खरिद गर्ने निर्णय मुलुक संघीय संरचनामा गएसँगै गरिएको दावी गरे ।
गाडी खरिद गर्ने निर्णय सरकारको भएको र यसमा राष्ट्रपतिको कुनै हात नहरेको भन्दै उनले बाहिर आएका समाचारहरुको खण्डन समेत गरे ।
कुनै देशका राष्ट्र प्रमुख नेपाल आउँदा उनीहरुले नै गाडी लिएर आउनुपर्ने अवस्था रहेको भन्दै उनले त्यो अवस्था अन्त्यका लागि पनि गाडी खरिद प्रक्रिया जायज उनको दाबी थियो ।
उनले १८ करोडमा एउटामात्र गाडी किन्न लागेको नभई सो रकममा आधा दर्जन गाडी किन्न लागिएको पनि स्पष्ट पारे ।










