काठमाण्डु, ७ मंसिर– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि गृहजिल्ला चितवनमा ‘खुकुरी प्रहार’ भएको भन्दै प्रचार गर्नेमाथि कारबाही गर्न उनको सचिवालयले सरकारसँग माग गरेको छ ।
प्रचण्डको निजी सचिवालयले उक्त प्रचारको खण्डन गर्दै त्यसलाई नियोजित प्रचारबाजीको संज्ञा दिएको छ । प्रचण्डकी स्वकीय सचिवसमेत रहेका पुत्री गंगा दाहालले खुकुरी प्रहार भएको भन्ने प्रचार पार्टी अध्यक्षलाई बदनाम गर्न गरिएको नियोजित प्रचार भएको बताइन् ।
‘यो नियोजित प्रचार हो’, उनले भनिन्, ‘हामी यसको निन्दा गर्दछौं र त्यस्ता कार्यमा संलग्नमाथि कारबाही गर्न सरकारलाई आग्रह गर्छौं ।’
एक कार्यक्रममा सहभागी हुन गएका बेला बिहीबार चितवनमा प्रचण्डमाथि खुकुरी प्रहार भएको भन्दै एक अनलाइनले समाचार प्रकाशित गरेको थियो ।










