राजविराज– शुक्रबार राति तीर्थयात्री बोकेको बस दुर्घटनामा परी मृत्यु भएका ५ जनाको शोक मनाउन आइतबार सप्तरीका सबै स्थानीय तह बन्द गर्ने निर्णय गरिएको छ।

जिल्ला समन्वय समिति सप्तरीको शनिबार विहान राजविराजमा सम्पन्न बैठकले शोक मनाउन स्थानीय तहका कार्यालय एक दिन बन्द गर्ने निर्णय भएको समन्वय समितिका संयोजक प्रभाकर यादवले जानकारी दिए। सप्तरीमा ९ नगरपालिकासहित १८ स्थानीय तह छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोही बैठकमा डाकनेश्वरी नगरपालिकाले मृतकका परिवारलाई राहत स्वरुप प्रतिपरिवार २५ हजार उपलब्ध गराउने निर्णय भएको छ। यसका अतिरिक्त घाइतेको उपचारमा समेत नगरपालिकाले सहयोग गरिरहेको मेयर शिवनारायण साहले बताए।

यसैगरी, मृतक र घाइतेको सहयोगका लागि स्थानीयहरुले करिब ४५ हजार चन्दा संकलन गरेको स्थानीय वैजु जोशीले बताए।

सुनसरीको बराह क्षेर र चतराधाम दर्शन गरेर फर्किने क्रममा को१ख २७९९ नम्बरको बस सप्तरीको भारदह–राजविराज सडकखण्ड अन्तर्गत हनुमाननगर कंकालिनी नगरपालिका १० स्थित इनरुवा चौक नजिकै दुर्घटना भएको थियो। बस पोखरीमा पल्टिँदा डाकनेश्वरी नगरपालिका ५ भुतहीका ५५ वर्षीय दिनेश रजक र ५० वर्षीय बउकिदेवी रजक, ७० वर्षीया बेचनीदेवी यादव, ६० वर्षीया शिकिलादेवी साह र ६० वर्षिया भुखनीदेवी यादवको मृत्यु भएको थियो।

३ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए।

६७ जना यात्रु सवार बस दुर्घटनाका घाइतेमध्ये ११ जनाको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, ३ जनाको विराटनगरस्थित न्युरो अस्पताल र ३४ जनाको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको छ। विराटनगरमा उपचाररत ३ जनाको अवस्था चिन्ताजनक रहेको डाकनेश्वरी नगरपालिकाका मेयर साहले बताए।

दुर्घटनापछि बसका चालक फरार छन्।नेपाललाइभ