गर्भवती र सुत्केरीको हवाई उद्धार अब निःशुल्क ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट शुरु गर्न लागेको छ ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५ पारित गरेको छ । कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् । देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला र शिशुको ज्यान जोखिममा नपरोस भनी राष्ट्रपति महिला उत्थान कार्यक्रम हवाई उद्धार गर्न लागिएको उनले बताइन् ।
सरकारले तोकेका जिल्ला तथा स्थानीय तहमा सम्बन्धित स्थानीय तह गाउँपालिका÷नगरपालिकाका अध्यक्ष संयोजक रहने गरी सिफारिस समिति गठन हुनेछ । यस समितिले आफ्नो क्षेत्रमा ज्यान जोखिममा परेका महिला तथा उनको परिवारले निवेदन दिएपछि हवाई उद्धारको सिफारिस गर्नेछ ।, नयाँ पत्रिकामा खबर छ ।
शोकमा सप्तरीका स्थानीय तह बन्द बस दुर्घटनामा परी पाँच जनाको मृत्यु र ४९ जना घाइते भएपछि सिङ्गो सप्तरी जिल्ला शोकमा डुबेको छ । सुनसरीको बराहक्षेत्रबाट कात्तिक पूर्णिमाको मेला भरी फर्किने क्रममा शुक्रबार राती सप्तरीको इनरुवामा को१ख २७९९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा डाकनेश्वरी नगरपालिका– ४ भूतहीका दिनेश रजक, उहाँकी श्रीमती सुनीलादेवी तथा वडा नं ५ पातोका बेचनीदेवी यादव, ठकनीदेवी यादव र सिकिलदेवी साहको मृत्यु भएको थियो ।
शोकमा आइतबार जिल्ला समन्वय समितिसहित जिल्लाका १८ वटै स्थानीय तह बन्द गरिएको जिससका प्रमुख प्रभाकर यादवले बताए । घटना सुनेलगत्तै रातिदेखि नै घटनास्थल र अस्पताल पुगेर स्थानीय तहका प्रमुख, अध्यक्षसहित राजनीतिक दलका कार्यकर्ता, प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, समाजसेवीले आर्थिक तथा भौतिक सहयोग गरेर घाइतेको उद्धार गरेका थिए ।
दुःखद्पूर्ण घटनाले जिल्लामा नै सन्नाटा छाएको र आफूलाई स्तब्ध बनाएको राष्ट्रियसभा सदस्य सुमनराज प्याकुरेलको भनाइ छ । प्रदेशसभा सदस्य रुवि कर्णले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै घटनाको छानबिन गर्न विज्ञप्तिमार्फत माग गरेका छन् ।
हत्याको विरोध, आरोपीको घरमा आगजनी शुक्रबार राति गोली प्रहारबाट हत्या गरिएका स्थानीय नेता राजाबाबु चौधरीको हत्याको आरोप लागेका कपिलवस्तु शुद्धोधन गाउँपालिका–४ मोतीभारीका अजित पाण्डेयको घरमा आगजनी भएको छ । स्थानीय नेता चौधरीको हत्या अजित पाण्डेयले गरेको भन्दै हत्याको विरोधमा पाण्डेयको मोतीभारीस्थित दुई तल्ले घर, गोठ, गोदाम आगजनी गर्दा करीब रु २ करोड बराबरको धनमाल क्षति भएको छ ।
हत्याको विरोध गर्दै मृतक चौधरीका आफन्तजन, समर्थक र सर्वधारणले सो आगजनी गरेका हुन् । हत्याको आरोपी पाण्डेयको घरमा रहेको एक थान ट्याक्टर, एक थान हार्वेस्टर कम्बाइन, चार थान मोटरसाइकलमा आगजनी हुँदा उक्त धनमाल जलेर पूर्ण नष्ट भएको छ ।
घरमा आगजनी गर्ने प्रयासलाई नियन्त्रणमा लिन खोज्दा सर्वसाधारण र प्रहरीबीच झडपसमेत भएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले एक दर्जन बढी हवाई फायर गरेको छ । झडपका कारण सशस्त्र प्रहरी निरीक्षक गोविन्द श्रेष्ठको हातमा चोट लागी घाइते भएका छन् ।
आक्रोशित भीडले हत्याको विरोधमा आरोपी पाण्डेयको लवनी चौकमा रहेको परमिला आयल सेन्टरमा आगजनीको प्रयास गरेका थिए । हत्या आरोपी पाण्डेय पक्राउ नपर्दासम्म मृतक परिवारले शवको दाह संस्कार नगर्ने जनाएका छन् ।
कांग्रेस कोषाध्यक्षको राष्ट्रिय भेला धादिङमा हुने नेपाली कांग्रेस जिल्ला कोषाध्यक्षको राष्ट्रिय भेला धादिङको गजुरीमा हुने भएको छ । कोषाध्यक्षको राष्ट्रिय समितिको शनिबार बसेको बैठकले आगामी मङ्सिर १४ र १५ गते धादिङको गजुरी गाउँपालिकामा भेला गर्ने निर्णय गरेको हो ।
कोषाध्यक्षको राष्ट्रिय समितिका अध्यक्ष एवं काङ्ग्रेस काठमाडौँका कोषाध्यक्ष गोविन्द पुडासैनीले आगामी मङ्सिर २८ देखि पुस ३ गतेसम्म हुने महासमितिको बैठकमा दिने राय सुझाव र सल्लाहबारे छलफल गर्न गजुरी गाउँपालिकाको घाटबेंसीमा भेला आयोजना गर्न लागेको जानकारी दिए । काङ्ग्रेस तनहुँका कोषाध्यक्ष रेशम गुरुङले पार्टीलाई सशक्त ढङ्गले अगाडि बढाउँदै पार्टीभित्र रहेको गुटउपगुटको अन्त्यका लागि भेला महत्वपूर्ण हुने बताए । भेलामा मुलुकभरका काङ्ग्रेस जिल्ला कोषाध्यक्षलाई आमन्त्रणसमेत गरिसकेको उनले बताए ।
‘ए’ डिभिजन लिगः चौथो चरणका खेलहरु मङ्सिर १० देखि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत शनिबार भएको तेस्रो चरणको अन्तिम खेलमा हिमालयन शेर्पा क्लबले जीत हात पारेको छ । हल्चोकस्थित एपिएफ क्लबको मैदानको खेल मैदानमा भएको अन्तिम खेलमा हिमालयन शेर्पाले जावलाखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
यो खेलसँगै लिगका तेस्रो चरणका खेलहरू सकिएका छन् । अब यही मङ्सिर १० गतेदेखि चौथो चरणका खेलहरू हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । चौथो चरणको पहिलो खेलमा यही मङ्सिर १० गते त्रिभुवन आर्मी र सङ्कटा क्लब प्रतिष्पर्धा गर्नेछन् ।
सोही दिन दोस्रो खेलमा न्युरोड टिमी (एनआरटी)ले थ्रीस्टार क्लबको सामना गर्नेछ । दुवै खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । सोही दिन हुने तेस्रो खेलमा च्यास युथ क्लबले नेपाल पुलिसको सामना गर्नेछ । तेस्रो खेल हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।
नेत्रहीन क्रिकेटको उपाधि त्रिभूवन आर्मी क्लबलाई विराटनगरमा भएको प्रथम रोनाल्ड म्याकुली कप नेत्रहिन क्रिकेट प्रतियोगिता उपाधि त्रिभुवन आर्मी क्लबले प्राप्त गरेको छ । विराटनगरको शहीद रङ्गशामा शनिबार सम्पन्न भएको अन्तिम खेलमा बर्दियालाई ५ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले सो उपाधि प्राप्त गरेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको बर्दियाले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १५२ रन बनाएको थियो । त्रिभुवन आर्मी क्लबले भने १६ दशमलव पाँच बलमा पाँच विकेट गुमाई विजयी भएको हो । लोकान्तर बाट










