भद्रपुर। मुख्यमन्त्री शेरधन राईले शिवसताक्षी–७ मा भएको आगलागीमा परी एउटै परिवारका चार जनाको मृत्यु भएको घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको छ ।

सताक्षीधाममा धार्मिक अनुष्ठान सोमबार उद्घाटन गर्ने क्रममा उहाँले दिवङ्गत भएका चारै जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारमा समवेदना दिनुभएको हो । “काखे बालकसहित एकै घरका चार जनाको आगलागीमा परी मृत्यु खबरले मलाई मर्माहत तुल्याएको छ”, मुख्यमन्त्री राईले भन्नुभयो, “प्रदेश सरकारले मृतकको परिवारलाई राहत प्रदान गर्नेछ ।”

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रममा सङ्घीय सांसद एलपी सावा, नगरप्रमुख चन्द्रकुमार शेर्मा, प्रदेश सांसद झलकसिंह दर्लामी लगायतले सो घटनाप्रति गहिरो शोक व्यक्त गर्नुभएको थियो । आगलागीमा परी मृत्यु भएका ३५ वर्षीय लक्ष्मण खनाल, उनकी पत्नी २९ वर्षीया राधिका , चार वर्षीया छोरी चन्दा ९सुप्रिया० र चारमहीने छोरो टीकारामको मेची अञ्चल अस्पतालमा शवपरीक्षणपछि आजै कनकाई नदीमा दाहसंस्कार गरिएको छ । आगलागीबाट रु ३५ लाख ४६ हजार बराबरको धनमालको क्षति भएको प्रहरीले जनाएको छ ।रासस