नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्ट २२ केन्द्रीय सदस्यहरुलाई छलफलमा बोलाएका छन् ।
केन्द्रीय कमिटी बैठकको माग गर्दे पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका २२ केन्द्रीय सदस्यसँग छलफलका लागि अध्यक्ष प्रचण्डले खुमलटारस्थित आफ्नो निवासमा निम्तो बोलाएका हुन् ।
छिटो केन्द्रीय कमिटीको बैठक बस्नुपर्ने र केन्द्रीय सचिवालयलाई सर्वेसर्वा बनाउन नहुने मागका साथ केन्द्रीय सदस्यले ५ असोजमा पार्टी नेतृत्वलाई ज्ञापनपत्र बुझाएका थिए ।
केन्द्रीय सदस्य डा बिजय पौडेलको नेतृत्वमा बुझाइएको ज्ञापन पत्र र उनीहरुको सरोकारको विषयमा छलफल गर्न दिउसो २ बजे खुमलटारमा असन्तुष्ट केन्द्रीय सदस्यहरुलाई बोलाइएको हो । खुमलाटार जाँदै गरेका एक केन्द्रीय सदस्यले छलफलको पुष्टि गरे ।
यसअघि असन्तुष्ट नेताहरुसँग नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, सविचालय सदस्य झलनाथ खनाल र वामदेव गौतमले पनि छलफल गरिसकेका छन् । तर, उनीहरुसँगको छलफल गोप्य राखिएको थियो । प्रचण्डसँगको छलफल पनि गोप्य राख्न खोजिएपनि सार्वजनिक भएको छ । दैनिक नेपाल बाट










