काठमाडौँ, मङ्सिर ११ । नेपाल सरकारले आजैदेखि नै लागू हुने गरी सामाजिक सुरक्षा योजना सुरु गरेको छ ।

हुन त यस कार्यक्रमको बीजारोपण २०६६/६७ को बजेट भाषणको दौरान घोषणा गरिएको १% सामाजिक सुरक्षा करकट्टी बाट भएको थियो । तत्कालीन अर्थमन्त्री सुरेन्द्र पाण्डे करकट्टीको यस घोषणा पछि बढी नै आलोचित पनि बने । किन भने उक्त समय यसरी उठाइएको रकम के गर्ने भन्नेबारे केही स्पष्ट पारिएको थिएन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सामाजिक सुरक्षा कोषमा कार्यरत कर्मचारीहरूका अनुसार खिलराज रेग्मी नेतृत्वको सरकारको पालामा सामाजिक सुरक्षा योजना कार्यान्वयनमा जाने कुरा भएको थियो तर संसद नभएकाले ऐन नबन्ने हुँदा उक्त योजना कार्यान्वयन हुन सकेन ।

तर त्यसपछिका सरकारहरूमा भने यसप्रति खासै चासो देखिएन । तर सरकारले सामाजिक सुरक्षा भन्दै कर भने लिई नै रह्यो । हाल उक्त कोषमा झण्डै २० अर्ब रुपैयाँ जम्मा रहेको बताइन्छ ।

गत वर्ष योगदानमा आधारित सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको ऐन– २०७४ बनेको थियो । २९ साउन ०७४ मा राष्ट्रपतिबाट प्रमाणित भएपछि अहिले नियमावली र कार्यविधि पनि बनेपछि सरकारले कार्यान्वयन गर्न थालेको हो ।

यस्तो छ सामाजिक सुरक्षा योजनामा प्रावधान

समाजिक सुरक्षा कार्यक्रममा श्रमिकले एकमुष्ट आफ्नो तलबको ११ योगदान गर्नेछन् । यसमा रोजगारदाताले २० प्रतिशत योगदान गर्नेछन् । यो रकमको २० प्रतिशत सञ्चयकोषमा जानेछ भने ८.३३ प्रतिशत उपदान र २.०७ प्रतिशत सामाजिक सुरक्षा कार्यक्रमहरुमा खर्च हुनेछ ।

यस कार्यक्रममा आरम्भमा सरकारले चार प्रकारका योजना ल्याएको छ । पहिलो योजना अन्तर्गत रहेको मातृत्व कार्यक्रम अन्तरगत महिला श्रमिक गर्भवती भएमा निश्चित रकम पाउनेछन् भने जटिलखालको उपचार गर्नुपर्ने भएमा त्यसअनुसार थप सुविधा पाउनेछन् । प्रसुतीका क्रममा मृत्यु भएमा परिवारलाई निश्चित रकम दिइनेछ ।

अर्को बेरोजगारी भत्ता छ । यस्तो भत्ता सबै बेरोजगारहरूले भने पाउने छैनन् । अधिकारीहरूका अनुसार सामाजिक सुरक्षा योजनामा आवद्ध भएका मजदुर कुनै कारणले बेरोजगार भएमा निश्चित अवधिसम्म जीवन निर्वाह भत्ताका रुपमा यो रकम दिइनेछ । उनीहरूलाई आवश्यकता अनुसार तालिम पनि दिइन सक्छ ।

तेस्रो योजना अन्तर्गत पेन्सन योजना पनि छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आवद्ध भएको मजदुरले उमेरका कारण अवकास पायो भने उसले पेन्सन पाउनेछ । उसमा सिधै उपदान लिने पाउने या मासिक पेन्सन लिने भन्ने विकल्प हुनेछ । यसका लागि श्रमिकले आफ्नो कार्यरत अवधिभर जम्मा भएको रकमलाई १८० ले भाग गर्दा आउने रकम योगदानकर्ताले मासिकरूपमा आजीवन पाउने छ ।

यसको चौथो स्किम आश्रित परिवारलाई रहेको छ, जसमा मजदुरको आश्रित परिवारको शिक्षा, स्वास्थ्यमा मदत गरिनेछ ।

सरकार के गर्छ ?

यसमा श्रमिक र रोजगारदाताको योगदान देखिए पनि सरकारको योगदान नदेखिएको भन्ने प्रश्नको उत्तरमा सामाजिक सुरक्षा कोषका अधिकारीहरू भन्छन् “यस योजना अनुसार मजदुर र रोजगारदाताले जम्मा गर्ने रकमबाट औषधि उपचार लगायतका सामाजिक सुरक्षामा जति स्किम ल्याइएको छ, त्यसले पुग्दैन । अपुग भएको जति रकम हुन्छ, त्यो सरकारले व्यहोर्छ ।”

हरेक आर्थिक वर्षको चैतभित्र कोषले अपुग रकम सरकारसँग माग गर्ने र बजेटमा सरकारले अनुदानका रुपमा दिने उनीहरू बताउँछन् ।

यस्तो छ उक्त कार्यविधिको पूर्ण पाठ:

https://drive.google.com/file/d/1C3FaJQysoY8oFalO6wFWaz2EmYxVDTVf/view