दैलेख, १२ मंसिर-जिल्लाको ठाँटिकाँध गाउँपालिकामा बोलेरो जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परि दुई जनाको मृत्यु भएको भने ६ जना घाइते भएका छन्। सुर्खेतबाट ठाँटिकाँध गाउँपालिका–३ वहाँकोट जाँदै गरेको भे १ च २२०७ नम्बरको बोलेरो जिप बुधबार बिहान ८ बजेतिर वडा नम्बर ३ को धामीगाउँ नजिक दुर्घटनामा परेको प्रहरीले जनाएको हो ।
दुर्घटनामा परी ठाँटिकाँध गाउँपालिका ३ का अन्दाजी ४७ वर्षीय राजेन्द्रबहादुर शाही र वडा नम्बर १ का अन्दाजी ३० वर्षीय निर्मल बमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता इन्स्पेक्टर प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो । घाइतेको भने परिचय खुल्न नसकेको क्षेत्रीले बताउनुभयो ।










