काठमाडौंको साँझ, अलिकति मात अनि हाँक्यो यातायात । पुरूषका हकमा नयाँ होइन । ट्राफिक प्रहरीको फन्दामा पर्ने पुरूषहरू सजग हुुन्छन् । पिएको खण्डमा पनि चोरबाटो खोज्छन् । तर, पिएर सिधा बाटोबाट नै जाने म्याडमहरू पनि कम छैनन् ।
ट्राफिक प्रहरीको एउटा तथ्यांकले भन्छ– मादक पदार्थ सेवन गर्ने महिलाहरू पनि बढे ।
परम्परागत रूपमा पुरूषका मुख सुँग्न साँझ र रात्री ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई सहज हुने भएकाले मापसेकर्ता महिला उम्किन पाउँथे । ‘मुख सुँग्न मिलेन, त्यसैले पहिला हामीले महिलालाई त्यति ध्यान दिएनौं’, एक ट्राफिक हवल्दार भन्छन्,‘अहिले उपकरणको सहयोग लिन थालेपछि महिला मापसेकर्ता पनि टन्नै फेला पर्न थालेका छन् ।’
अफिसको काम सक्यो, साथीभाई भेट्यो । ट्वाक्क दुई पेग भोड्का क्याबेरी जुुससँग पियो । स्कुटी चढेर सरर घरतिर लाग्ने महिला कम थिएनन् । तर ट्राफिक प्रहरी भन्छ,‘त्यस्ता म्याडमहरू पनि फन्दामा पर्न थालेका छन् ।’
खासगरी कामकाजी साधनधारी महिला अहिले मापसेमा पर्न थालेका छन् । ‘कतिपयको आफ्नै अफिस हुँदो रहेछ, कतिपय पार्टीमा पुगेर आएको भन्छन् तर भीआइपी परिवारका महिला भेटिन्छन्’, ट्राफिक प्रहरी स्रोतले भन्यो,‘कतिपयको नाम हामीले गोप्य नै राख्नुपर्ने बाध्यता पनि छ ।’
तर, मापसेको जरिवाना लिएर अनिवार्य क्लास चलाउने ट्राफिक प्रहरी कक्षामा भने त्यस्ता भीआइपीको परिचय खुल्ने गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाको एउटा कक्षामा भेटिएकी म्याडम भन्छिन्,‘छल्न त साथीभाईले नै सिकाएका थिए, यसपटक फसियो ।’ उनको प्रण छ अब पिएर स्कुटी चलाउनेवाला छैन ।
‘एक त कक्षा लिनुपर्ने, अर्को बेइज्जत हुनुपर्ने, रक्सी सुँगेर नि चलाउन नसकिने रहेछ गाडी’, उनी थप्छिन्,‘कक्षा लिन आउने अरु देखेर पनि लाज लाग्ने ।’
त्यसो त म्याडमहरूले मापसे गरी सवारी चलाएको तथ्य महाशाखासँग छ । आर्थिक वर्ष २०७४÷७५ को तुलनामा चालू आर्थिक वर्षमा मापसे गरी सवारीसाधन हाँक्ने महिलाको संख्या बढेको छ ।
२०७४/७५ मा ३ सय २६ महिलाले मापसे सम्बन्धी चेतनामूलक कक्षा लिएका थिए । चालु आवको चार महीनामा मात्र मापसे गरी सवारीसाधन चलाएका ३४१ महिलाले सो कक्षा लिइसकेको महाशाखाका प्रमुख एसएसपी वसन्तकुमार पन्त बताउँछन् । उनी भन्छन्,‘मापसेमा कुनै पनि प्रकारको छुट हुने छैन । देशका अधिकतम भीआइपी पनि यस कारबाहीमा पर्छन् ।’
ल्यान अनुशासनमा त झन् महिला नै बढि कारबाहीमा पर्ने गरेका छन् । अघिल्लो बर्षको तथ्यांक केलाउँदा तीन हजार २ सय २५ जनाले कारबाही भोगेका छन् । यसबाहेक सवारी दुर्घटना, ठोक्काउनेमा पनि महिलाको संख्या बढिरहेको महाशाखासँगको तथ्यांकमा उल्लेख छ । दैनिक बाट










