बिजय चालिसे
कावासोती, १४ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले अब गति लिएको दाबी गरेका छन् । त्रिभुवन बाल मावि कावासोती १७ नवलपुरको स्वर्ण महोत्सवको शुक्रबार उद्घाटन गर्दै प्रचण्डले केहि ढिला गरि भएपनि सरकारले गति लिएको दाबी गरे ।
अध्यक्ष प्रचण्डले केहि दिन अघि मात्रै सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजनाको उदाहरण दिदै सामाजिक सुरक्षा योजना दुरगामि र ऐतिहासिक निर्णय भएको भन्दै त्यो कोसेढुंगा साबित भएको बताए ।
मुलुकको विकासलाई गति दिने गरि प्रक्रिया अघि बढेको भन्दै अध्यक्ष प्रचण्डले अब कसैले चाहेर पनि मुलुकको विकास नरोकिने ठोकुवा गरे । उनले प्रतिक्रियावादीले जहिले पनि कम्युनिष्टहरुविरुद्ध भ्रम छरिरहेको भन्दै अब दुई छिमेकीसँगको साथ र सहयोगबाट मुलुकलाई नयाँ गति दिने बताए ।
‘उत्तरी छिमेकी चीन र दक्षिण छिमेकी भारतसँगको सम्बन्ध नयाँ शिराबाट मजबुत बन्दै गएको छ, अब विकासले गति लिनेमा कुनै शंका नगर्नहोस्’, प्रचण्डले भने, ‘जहिले पनि प्रतिक्रियावादीहरुले हामीविरुद्ध भ्रम छरिरहेका छन, संविधान जारी गर्ने बेलामा होस् अथवा दुई पार्टीबिचको एकता प्रक्रियामा होस् या त गणतन्त्र ल्याउने बेलामा मात्रै नभै स्थानीय तहको निर्वाचन एंव संघीय तथा प्रदेशको चुनावमा किन नहोस् कम्युनिष्टलाई असफल बनाउन लागि परे तर, त्यो पुरा हुन सकेन ।’
उनले नवलपुर र आफू निर्वाचित चितवनको पश्चिम चितवनलाई जोडेर यस क्षेत्रको गुणात्मक परिवर्तन ल्याउन आफू प्रतिवद्ध रहेको बताए । अध्यक्ष प्रचण्डले नारायणीमा ३ वटा नयाँ पुलको आवश्यकता महशुस गरिएको र नारायणी नदिमा सबैभन्दा पहिले पानी जहाज चलाएर छाड्ने ठोकुवा समेत गर।े । उनले भूमिगत अवस्थामा आफू पूर्णकालिन सदस्य भएपछि पहिलो कार्यक्षेत्र नवलपरासी मै रहेको खुलासा गर्दै यस क्षेत्रको विकासमा आफूले कुनै कसर बाँकी नराख्ने उद्घोष गरे ।
अध्यक्ष प्रचण्डले शिक्षा क्षेत्रमा निजिकरण र व्यापारिकरणको रोग लागेको भन्दै पछिल्लो समय सामुदायिक विद्यालयमा आकर्षण बढ्दै गएको बताए । केहि समय अघिसम्म सामुदायिक विद्यालयको स्तर कमजोर रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अहिले सुधार हुँदै गएसँगै आकर्षण बढेको दावी गरे । उनले शिक्षाको गुणस्तर वृद्धिका लागि सरकार कटिबद्ध भएर लाग्ने समेत बताए ।
चुनावमा गरेका सबै प्रतिवद्धताहरु सरकारले ५ वर्षभित्र पुरा गरेरै छाड्ने अध्यक्ष प्रचण्डले स्पष्ट पारे । ‘हामीले सोचेजस्तो काम गर्न सकिरहेका त छैनौँ तर, ५ वर्ष भित्र हामीले चुनावमा गरेका सबै प्रतिबद्धता पुरा गर्छौँ’, उनले भने । दैनिक नेपाल बाट










