काठमाडौं । शुक्रबार दिउँसो काठमाडौंको माइतीघर मण्डलाबाट कञ्चनपुरकी १४ वर्षीया किशोरी निर्मला पन्तको न्यायको निम्ति दबाब दिने उद्देश्यले पोष्टर टाँस्दै हिँडेका १२ जनालाई प्रहरीले पक्राउ गर्यो ।
प्रहरीले १२ जनालाई पक्राउ गरेसँगै नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले बिजुलीको पोलहरुमा पोष्टर टाँस्न पाउने तर जनताले नपाउने भनेर संविधान/कानुन/नियममा कहाँ लेखिएको छ भनेर प्रश्न गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले सरकार किन यसरी विक्षिप्त बन्दैछ ? आफ्नै छायाँदेखि सरकार किन डराउँदैछ ? भनेर सामाजिक सञ्जाल ट्विटरमार्फत प्रश्न गरेका हुन् ।
ट्विटरको अन्त्यमा लेखिएको छ – ‘विधिको शासन भनेको कानूनको नजरमा सबै समान भनेको हैन ? सरकारले विधि मिच्ने भनेको निरंकुशता–फासिवाद हैन ? भीरबट लड्ने गाईलाई रामराम !’
बिजुलीको पोलमा पन्तको तस्बिर टाँस्न खोज्दै गर्दा पक्राउ परेका सबै जनालाई सिंहरदबार प्रहरी वृत्तको हिरासतमा लगेर राखिएको थियो ।
प्रहरीले उक्त तस्बिरहरु हटाएपनि शनिबार दिनभर पन्तको बलात्कारी र हत्यारालाई पक्राउ माग गर्दै धनगढी, झापा, पोखरा, विराटनगरलगायतका विभिन्न ठाउँहरुमा प्रदर्शन गरिने अभियन्ता सिर्जना विश्वकर्माले जानकारी दिइन् ।
अभियानकर्ता विश्कर्माका अनुसार निर्मला पन्तको तस्बिरसहित ‘सरकार भेटियो, न्याय भेटिएन’ नारा लेखिएको ब्यानर बिजुलीको पोलमा टाँस्ने क्रममा प्रहरीले हस्तक्षेप गरेको हो ।
https://twitter.com/brb1954/status/1068490157546983424पक्राउ पर्नेमा ३ जना पुरुष र बाँकी सबै महिला रहेका थिए । अभियनकर्ता प्रितम सुवेदी, सिर्जना विश्वकर्मा, भुवन राउत, सौरभ न्यौपाने, छवि पंगेनी, अशिना बराल, स्मृति श्रेष्ठ, दर्शन चन्द, देवीश्री पन्तलगायतलाई प्रहरीले पक्राउ गरेको हो ।
यसअघि मुलुकमा सरकार कहाँ छ ? भन्दै आलोचना भएको थियो । सामाजिक सुरक्षा कार्यक्रमको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रत्येक बिजुलीका पोलमा आफ्नो तस्बिरसहितको डिजिटल पोस्टर राख्न निर्देशन दिँदै जता हेर्यो त्यतै सरकार भन्ने अभिव्यक्ति दिएका थिए ।
त्यसको दोस्रो दिन दिन बुधबार केही युवाहरुले सरकारकै शैलीमा ‘सरकार भेटियो, न्याय भेटिएन’ लेखिएका पोस्टरहरु टाँसेका थिए । तर, बिहीबार यस कामको समर्थन गर्दै सरकारको व्यापक आलोचना भएपछि गृहमन्त्रीको निर्देशनमा प्रहरीले उक्त पोस्टरहरु हटाएको हो ।










