प्रनिश थापा , चितवन । पूर्वीचितवनको राप्ती नगरपालिका–४ निवासी मानसिक सन्तुलन गुमाएकी एक युवतीको शुक्रबार उद्धार गरिएको छ । मानसिक सन्तुलन गुमाएकी वर्ष १९ की अविवाहित युवती गर्भवती भएको भन्ने समाचार विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित भएपछि प्रदेश सांसद रीना गुरुङ्गको पहलमा ती युवतीको शुक्रबार उद्धार गरिएको हो ।

मानसिक सन्तुलन गुमाएकी युवतीलाई कसैले करणी गर्दा गर्भ रहेको स्थानीयले आशंका गरेका छन् । प्रदेश सांसद गुरुङ सहित महिलाअधिकारकर्मी मन्जु खाँड, प्रहरी र सञ्चारकर्मीहरु सहितको संयुक्त टोलीले युवतीको उद्धार गरेको हो । उद्धार गरिएकी युवतीलाई भरतपुरको चितवन मेडिकल कलेजमा भर्ना गरेर उपचार गरिने प्रदेश सांसद रीना गुरुङले जानकारी दिइन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उक्त घटनाको समाचार सार्वजनिक भएसँगै घटनाको जानकारी लिन चितवन जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौर समेत बिहीबार बिहान पीडितको घर पुगेका थिए । उक्त घटनाको गम्भीरतापूर्वक अनुसन्धान सुरु गरिएको राठौरले बताए । युवती पीडित भएको सार्वजनिक भएपनि स्थानीय सरकारको रुपमा रहेको राप्ती नगरपालिकाका जनप्रतिनिधिहरुले भने बेवास्ता गरेका छन् ।