चुरे (मकवानपुर)। मकवानपुर हेटौंडाकी ३८ वर्षीया एक महिला श्रीमान्ले शारीरिक तथा मानसिक यातना दिएको भन्दै उजुरी गर्न जिल्ला कानुनी सहायता समितिमा पुगिन् । समितिका सदस्यहरुले सम्झाइ बुझाइ गरेपछि श्रीमान्ले व्यवहार सुधार्नेछन् भन्ने विश्वास थियो उनलाई । धेरैजसो घरबाहिरै बस्ने, घरको आर्थिक अभावलाई वास्तै नगर्ने, घर आएको बेला पनि शारीरिक तथा मानसिक यातना दिने गरेको भन्दै उनी श्रीमान्को बानी सुध्रिने अपेक्षासहित ती महिला समितिको कार्यालय पुगेकी थिइन् ।
श्रीमान्को माया पाउन र घर व्यवहारप्रति जिम्मेवार बनाउने उद्देश्यले समितिको शरणमा पुगेकी उनी त्यतिबेला अचम्ममा परिन्, जब उनले आफूलाई थाहै नदिई श्रीमान्ले सम्बन्ध विच्छेदको मुद्दा हालिसकेको थाहा पाइन् । त्यति मात्र कहाँ हो र ? श्रीमान्ले अर्काे विवाह पनि गरिसकेका रहेछन् । त्यसपछि पो उनले थाहा पाइन्, श्रीमान् धेरैजसो घरबाहिरै बस्ने र घर व्यवहारप्रति जिम्मेवार नबन्नुको वास्तविक कारण ।
ती महिला भन्छिन्, ‘अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर अर्काे विवाह गरिसकेको रहेछ, अनि पो घरमै नआउँदो रहेछ, घर झगडा हुँदा अर्को विवाह गर्छु भन्थ्यो, मैले नि जिस्केरै ल्याउनु त हेरम् भन्थें, तर यस्तो बेइमान गर्लान्जस्तो लाग्दैनथ्यो, मलाई थाहै नदिई छोड्न लागेछन् ।’
पछिल्लो समय परिवारमा हुने सानोतिनो खटपटको विषयलाई लिएर सम्बन्ध विच्छेद गर्न चाहनेमा पुरुषको संख्या बढेको पाइएको छ । नेपालमा नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएपछि सम्बन्ध विच्छेद गर्न महिलाभन्दा पुरुषको संख्या बढेको पाइएको हो ।
पहिला पुरुषहरुले सम्बन्ध विच्छेद गर्न चाहेमा झण्झटिलो कानुनी व्यवस्था रहेको र अहिले सहज भएको भन्दै पुरुषहरु सम्बन्ध विच्छेदमा अग्रसर हुने गरेको एक अधिवक्ताले बताए । पहिले श्रीमतीले सम्बन्ध विच्छेद गर्न चाहेमा मात्रै सिधै अदालत जान पाउने तर श्रीमान्हरुले सम्बन्ध विच्छेद गर्न चाहेमा स्थानीय निकायदेखि प्रक्रियामा जानुपर्ने व्यवस्था थियो । १ भदौदेखि नयाँ मुलुकी संहिता कार्यान्वयनमा आएसँगै पुरुषलाई पनि सम्बन्ध विच्छेद गर्न चाहेमा सिधै अदालत पुग्ने बाटो खुलेको छ ।
जिल्ला अदालत मकवानपुरका अनुसार १ भदौबाट कात्तिक मसान्तसम्मको तथ्यांकलाई हेर्दा सम्बन्ध विच्छेद गर्न पुरुषहरु नै हतारिने गरेको प्रस्ट हुन्छ ।
‘महिलाहरु सनातन रूपमा हिंसा सहने र श्रीमान् सुध्रेला भनेर पनि वर्षौं हिंसा सहेर बस्ने गरेको पाइन्छ तर पुरुषहरु भने जे पर्ला पर्ला भनेर दायाँ बायाँ केही नहेरी अदालत आउने परिपाटी देखियो,’ एक जना अधिवक्ताले भने ।
उनका अनुसार घरबाहिर प्रेमिका राखेर श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउनेहरु धेरै देखिएका छन् ।
श्रीमतीसँग सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर, प्रेमिकासँग बस्दै आएको वा दोस्रो विवाह गरेको घटना जिल्ला कानुन सहायत समितिमा पनि भेटिएको छ । श्रीमान्ले दोस्रो विवाह गरेर श्रीमतीलाई पालनपोषणमा वास्ता नगरेको र शारीरिक तथा मानसिक हिंसा गरेको उजुरी कानुन सहायता समितिमा दर्ता भएपछि श्रीमान् झिकाउँदा उसले दुई महिना अगावै सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइसकेको घटना पनि भेटिएको छ ।
जिल्ला कानुन सहायता समितिमा मुद्दा हेर्दै आएकी अधिवक्ता अप्सरा बस्नेत भन्छिन्, ‘महिला हिंसाको समस्या झन्झन् विकराल बन्दै आएको छ, श्रीमान्ले कतिबेला सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएर अर्की ल्याउने हो पत्तै हुँदैन ।’
जिल्ला अदालत मकवानपुरका अनुसार १ भदौदेखि कात्तिक मसान्तसम्म ४३ जना पुरुषले सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गराएका छन् । ‘पुरुषले पनि सिधै अदालतमा सम्बन्ध–विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएपछि मुद्दा दर्ता हुने क्रम बढेको छ,’ जिल्ला अदालत मकवानपुरका स्रेस्तेदार केशव कौशिकले भने, ‘धेरैजसो मुद्दामा पारिवारिक कलह र वैदेशिक रोजगारीका समस्या जोडिएका छन् ।’
अदालतमा अघिल्लो आर्थिक वर्षबाट सरेर आएका ६३९ वटा मुद्दासहित कात्तिक मसान्तसम्म १ हजार १७२ मुद्दा रहेकोमा ३१० मुद्दा फैसला भइसकेको उनले जानकारी दिए । बाँकीमध्ये तीन वटा मात्र दुई वर्ष नाघेका छन् । अदालतमा २०७३÷७४ मा १ हजार ४७७ वटा मुद्दा दर्ता भएकोमा २९९ वटा सम्बन्ध–विच्छेदको मुद्दा परेका थिए । राजधानी दैनिक बाट










