काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा ४७ र ५३ प्रतिशतको भागवण्डा मिलाएको छ । नेकपाले सातै प्रदेशमा गरी १३ सय ८७ जनालाई प्रदेश कमिटीमा जिम्मेवारी प्रदान गरेको हो । सोमबार सार्वजनिक गरिएको सूचीमा साविक एमालेको भागमा ७३९ सदस्य र साविक माओवादी केन्द्रको भागमा ६४५ जना सदस्य परेका छन् । यसअघि केन्द्रीय कमिटीमा ५५ र ४५ प्रतिशतको अनुपात मिलाइएको थियो । ४४१ सदस्यीय कमिटीमा २४१ जना पूर्व एमाले र २०० जना माओवादी केन्द्रबाट परेका थिए । ५ असोजमा बसेको सचिवालय बैठकले प्रदेशको इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष, सचिव तोकेको भए पनि कमिटीले पूर्णता पाएका थिएनन् । मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेशको नामावली टुंग्याएको हो । यसअघि ६ प्रदेश इन्चार्ज एमालेको भागमा परेको थियो । माओवादी केन्द्रले कर्णाली प्रदेशको इन्चार्ज पाएको थियो । प्रदेशको कार्यकारी नेतृत्व भने पूर्वमाओवादी केन्द्रले बढी पाएको थियो । सात प्रदेशमध्ये, २, ३, गण्डकी र ५ नम्बर प्रदेश माओवादी केन्द्रको भागमा परेको छ भने १, कर्णाली र सुदूरपश्चिम पूर्वएमालेले नेतृत्व गरेको छ । यता प्रदेश कमिटी भागवण्डामा भने कर्णाली प्रदेशमा मात्रै साविक माओवादी केन्द्रले एक सिट बढी पाएको छ । अन्य ६ वटै प्रदेशमा पूर्वएमालेको अधिक संख्या रहेको छ । एक नम्बर प्रदेशको २०७ सदस्यीय कमिटीमा पूर्व एमालेका १२२ अर्थात् ५९ प्रतिशत सदस्य छन् भने माओवादी केन्द्रले ४१ प्रतिशत पाएको छ । दुई नम्बर प्रदेशमा पूर्वएमाले, माओवादी केन्द्रले आधा–आधा १०६–१०६ भागवण्डा मिलाएका छन् भने पार्टी प्रवेश गरेका ३ सदस्य थपेर २१५ सदस्यीय कमिटी निर्माण गरेका छन् । ३ नम्बर प्रदेशको २१७ सदस्यीय कमिटीमा एमालेको भागमा ११६ जना सदस्य अर्थात् ५३ प्रतिशत परेका छन् भने माओवादी केन्द्रको भागमा ४७ प्रतिशत अर्थात् १०१ सदस्य परेका छन् । गण्डकी प्रदेशको १८७ सदस्यीय कमिटीमा ५५ र ४५ प्रतिशतको भागवण्डा मिलाएका छन् । त्यहाँ एमालेले १०२ र माओवादी केन्द्रले ८५ सदस्य भाग लगाएका छन् । पाँच नम्बर प्रदेशको २०३ सदस्यीय कमिटीमा ५२ र ४८ प्रतिशतको भागवण्डा गरेका छन् । त्यहाँ एमालेले १०६ र माओवादी केन्द्रले ९७ सदस्य बाँडेका छन् । त्यस्तै सुदूरपश्चिमको १८३ सदस्यीय कमिटीमा ५४ र ४६ प्रतिशतको भागवण्डा गरेका छन् । सय सदस्य पूर्वएमालेले पाउँदा पूर्वमाओवादी केन्द्रले ८३ सदस्य पाएको छ । नेकपाको अन्तरिम विधानमा प्रदेश कमिटीको न्यूनतम संख्या १५१ रहने र एक निर्वाचन क्षेत्र (प्रतिनिधिसभा)बाट दुई जना रहने व्यवस्था छ ।बाह्खरीबाट