भद्रपुर । चाँडो मुद्दा मिलाई दिएको भन्दै पीडितबाट रकम असुल्ने एक जना प्रहरी सहायक निरीक्षक (असई)लाई प्रहरी कार्यालय झापाले जागिरबाट निलम्बन गरेको छ । प्रहरी चौकी चाराआलीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक उत्तमकुमार कार्कीलाई जागिरबाट निलम्बन गरिएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

घटना विवरण अनुसार इलाका प्रहरी कार्यालय बिर्तामोडले मेचीनगर नगरपालिका १३ बस्ने यादव भट्टराईलाई मंसीर १० गते पक्राउ गरी अभद्र व्यवहार सम्बन्धी मुद्दा चलाई कारवाही अघि बढाएका थिए । प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाएका भट्टराई मंसीर १६ गते जिल्ला प्रशासन कार्यालय झापामा ८ हजार धरौटी बुझाएर छुटेका थिए । धरौटी बुझाएर छुटेका भट्टराईसंग प्रहरी चौकी चाराआलीका प्रसनि कार्कीले त्यसको भोली पल्ट मंसीर १७ गते १५ हजार लिएका थिए । प्रसनि कार्कीले चाँडो मुद्दा मिलाइ दिएको भन्दै भट्टराईसंग रकम लिएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले घुस लिएको भन्दै भट्टराईले प्रहरी कार्यालय झापालाई सो बिषयमा जानकारी गराएपछि तत्काल प्रहरीमाथि अनुसंन्धान सुरु गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए । ‘प्रहरी अनुसन्धानबाट प्रसनि कार्कीले भट्टराईसंग रकम लिएको भेटियो’, प्रनउ श्रेष्ठले भने, ‘त्यसपछि प्रहरी संगठनको कानुन बमोजिम उनलाई जागिरबाट निलम्बन गरिएको हो ।’

यस लेनदेनको घटनामा इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत प्रहरी नायव निरीक्षक (सई) उत्तम कार्कीको समेत संलग्नता रहेको आंशकामा प्रहरी कार्यालय झापाले उनीमाथि छानविन सुरु गरेको प्रनउ श्रेष्ठले बताए । ‘मेरो अध्यक्षतामा छानविन टोली गठन भएको छ, उनले भने । यता निलम्बनमा परेका प्रसनि कार्की काजमा चाराआली चौकी इञ्जार्च भएर आएका थिए । यसअघि पनि उनी चाराआलीमा चार पटक सम्म सरुवा मिलाएर आइसकेको स्थानीय बताउँछन /