काठमाडौँ, मङ्सिर १९ गते । सरकारसँग वार्ता शुरु भएपछि नेपाल शिक्षक महासङ्घले घोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अर्थ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका प्रतिनिधिको उपस्थितिमा वार्ता गरी माग सम्बोधनको पहल गर्ने आश्वासन दिएपछि महासङ्घले मङ्सिर २१ गतेका लागि घोषणा गरिएको ‘काठमाडौँ जाऔँ’ कार्यक्रम स्थगन गरेको हो । मङ्सिर १४ गते पनि महासङ्घले उपत्यकाका सामुदायिक विद्यालयको पठनपाठन अवरुद्ध गराई काठमाडौँमा प्रदर्शन गरेको थियो । सो दिन छुटेको पढाइ मङ्सिर २९ गते शनिबार पूर्ति गरिने महासङ्घले जनाएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

स्थानीय तहबाट विद्यालय शिक्षाको अधिकार फिर्ता ल्याउन संविधान संशोधन गरिनुपर्ने, शिक्षकहरुसँग विगतमा भएका सम्झौता कार्यान्वयन हुनुपर्ने र निःशुल्क तथा अनिवार्य शिक्षाका लागि पर्याप्त बजेट विनियोजन हुनुपर्नेलगायत माग राखी महासङ्घले जेठ १७ गतेदेखि आन्दोलन गर्दै आएको हो । महासङ्घका अध्यक्ष बाबुराम थापा र महासचिव लक्ष्मीकिशोर सुवेदीले जारी गरेको विज्ञप्तिमा वार्तालाई फलदायी र निर्णायक बनाएर सबै खाले शिक्षक र विद्यालय कर्मचारीका समस्या निराकरणका लागि आफूहरु प्रतिबद्ध रहेको उल्लेख छ । (रासस)