काठमाडौं । निजामती किताबखानाले झुक्याएर जागिर खाने पाँच दर्जन कर्मचारीबाट २ करोडभन्दा बढी रकम असुल्ने निर्णय गरेको छ । रकम असुल उपर नहुँदासम्म ती सबै कर्मचारीको पेन्सन पट्टा रोक्ने निर्णयसमेत किताबखानाले गरेको समाचार राजधानी दैनिकमा छ ।
त्यस्तै, सर्वोच्च अदालतले विशेष अदालतबाट दोषी ठहरिएका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । बोहोरालाई विशेष अदालतले दोषी ठहर गर्दै डेढ वर्ष कैद र २६ लाख ६३ हजार ४ सय ८५ रुपैयाँबराबरको बिगो र जरिवानाको फैसला गरेको समाचार पनि छापेको छ ।
सरकारले ललितपुरको भैसेपाटीमा मन्त्री निवास निर्माण गर्ने निर्णय गरेको छ । सञ्चार तथा सुचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले बिहीबार पत्रकार सम्मेलन गर्दै १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको बताउनुभयो ।
मंसिर लागेसँगै काठमाडौं उपत्यकामा अत्यधिक चिसो बढ्न थालेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं तथा अन्य ठाउँको तापक्रम अझै घट्ने बताएको समाचार पनि छ ।










