काठमाडौँ– श्रीमतीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका आर्मीका एक जवान पुर्पक्षका लागि जेल चलान भएका छन्।
ललितपुर जिल्ला अदालतले ओखलढुंगा घर भएका ती युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको महानगरीय प्रहरी वृत, सातदोबाटोका प्रमुख गौतम मिश्रले जानकारी दिए। श्रीमतीमाथि जबरजस्ती करणी गरेको प्रमाणित भए पाँच वर्षसम्म कैद सजाय हुने सक्ने कानुनी व्यवस्था छ।
यस्तो थियो घटना
झापाको कनकाई नगरपालिका घर भएकी माया शर्मा (नाम परिवर्तन) र ओखलढुंगा घर भएका विक्रम शर्मा (नाम परिवर्तन) बीच तीन वर्षअघि फेसबुक मार्फत चिनजान भयो। उनीहरु दिनदिनै नजिकिँदै गए। माया पिरतीका गफहरु हुन थाले। एकअर्का बिना बाँच्नै नसक्ने निर्णयमा पुगे।
वि.सं. २०७४ साल जेठ १ गते उनीहरुले भागीविवाह गरे। त्यसको तीन महिनापछि भक्तपुर जिल्ला अदालतबाट श्रीमान्–श्रीमतीको नाता कायम पनि गरे। नेपाल आर्मीका प्युठ रहेका विक्रम र मायाबीच सम्बन्ध राम्रैसँग अगाडि बढ्दै थियो। भक्तपुरमा उनीहरु डेरा गरी बस्थे।
तर, मायाको माइतीमा खासै राम्रो सम्बन्ध थिएन। गत असारमा माइतीले बोलाएपछि माया श्रीमान् लिएर झापा पुगिन्। तर, झापाबाट फर्किएलगत्तै माया र विक्रमबीच विवाद सुरु हुन थाल्यो। विक्रमसँग बस्न नसक्ने निर्णयमा पुगिन् माया। र, ललितपुरको इमाडोलमा डेरा लिएर एक्लै बस्न थालिन्। गत असोज ७ गतेको कुरा, माया साँझ खाना खाएर कोठामा टिभी हेर्दै बसेकी थिइन, विक्रम त्यहाँ आइपुगे।
आफैँ कोठाको चुकुल लगाएर उनले मायासँग यौनसम्पर्कको प्रयास गरे। तर, मायाले मानिनन्। आफूले खाने बस्ने र राम्रो माया गर्ने सुनिश्चित नभएसम्म यौनसम्पर्कका लागि आफू तयार नभएको मायाले अडान लिइन्। विक्रमले चाहिँ मायालाई तर्साउन थाले। बढी होहल्ला गरे मायाकै बेइज्जत हुने र आफूले सकुशल पनि नछाड्ने धम्की विक्रमको थियो। त्यसपछि विक्रम र मायाबीच यौन सम्पर्क भयो।
तर, त्यो एकक्षणको रमाइलोले विक्रमलाई प्रहरी हिरासतको बाटो देखाइदियो। २६ वर्षीय विक्रममाथि आरोप छ, ‘आफ्नै श्रीमतीमाथी जबरजस्ती करणी।’ २० वर्षीय मायाले गत असोज १९ गते महानगरीय प्रहरी वृत सातदोबाटोमा उजुरी दिएकी थिइन्, प्रहरीले नेपाल आर्मीलाई पत्राचार गरी विक्रमलाई बुझाउन आग्रह गरेको थियो। देश संचार बाट










