प्रधानमन्त्री अपमानित भएको भन्दै ४ शीर्ष नेताले शनिबार नेकपाको सचिवालय बैठक बहिस्कार गरेका छन् । दिउँसो ३ बजे बोलाइएको सचिवालय बैठकमा अध्यक्षद्वय समयमा नआएपछि पार्टीको सिस्टममा सुधार ल्याउन भन्दै शीर्ष नेता झलनाथ खनाल, प्रवक्ता नारायण काजी श्रेष्ठ, नेता माधव कुमार नेपाल र बामदेव गौतमले बैठक बहिस्कार गरेका हुन् ।

साढे तीन बजेसम्म पनि प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक छाडेर निस्किएको नेकपा नेता झलनाथ खनालले जानकारी दिए । ‘१५ मिनेटसम्म कुर्ने भन्ने थियो, तर आधा घण्टासम्म पनि दुबै जना नआएपछि निस्किएका हौं,’ खनालले भने, ‘पार्टीभित्र हुर्किएको बेथितीविरुद्ध आवाज उठाउन बैठक छाडेर निस्कियौँ ।’

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

अध्यक्षद्वय कतिबेला आइपुग्ने भन्ने बारे कुनै जानकारी नआएपछि पार्टीलाई व्यवस्थित गर्न बैठकबाट निस्केको प्रवक्ता नारायण काजी श्रेष्ठले जानकारी दिए । ‘वैठक कक्षबाट तीन जना कमरेडहरु पनि बाहिरिनु भयो भन्ने खबर पाए । त्यति बेलासम्म अध्यक्ष र महासचिव कमरेड पनि आउनुभएन’ उनले भने, ‘एकिकृत पार्टी गठन भएपछि पहिलो पटक वैठक बाहिस्कार गरेको जस्तो लाग्छ । यस अघि भएको छैन ।’