काठमाडौं, २३ मंसिर । नेपाली कांग्रेसको महासमिति बैठकमा पेस गर्ने विधान संशोधनबारे केन्द्रीय समिति बैठक विगत १५ दिनदेखि जारी छ । अहिलेसम्म ७७ जनाले आफ्नो धारणा राखिसकेका छन् ।

शनिबारको बैठकमा अधिकांश पदाधिकारीले आफ्नो धारणा राखेका थिए । बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले स्वआलोचना गरेका थिए । पार्टी बैठकमा अत्यन्त थोरै भनाइ राख्ने देउवाले शनिबार आफ्नै आलोचना गरे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

देउवाले आफू डडेल्धुराबाट र श्रीमती आरजु देउवा कैलालीबाट उठेकैले जनताले भोट नहालेको खुलासा गरे । उनले कोइराला समूहका नेताहरूको प्रशंसा गरे ।

‘कोइरालाहरूलाई अहिलेसम्म भाइभतिजा भन्ने चलन छैन । जसले टिकट पाए पनि विरोध हुँदैन । तर, हामीहरू सबै अप्ठ्यारोमा छौँ । डडेल्धुरामा शेरबहादुर र कैलालीमा उसको श्रीमती उठेपछि दुईतिर दुईजना नै लड्ने भन्दै हराइदिए,’ देउवाले भने, ‘नुवाकोटमा रामशरण महत र अर्जुननरसिंह जित्ने उम्मेदवार हुन् । तर, उनीहरूले पनि भाइभतिजा खोज्दा हराइदिए । एउटै घरपरिवारका सबैलाई पचाउने अवस्था भएन ।’

देउवाले टिकट वितरणमा र ढंग नपुग्दा चुनाव हारिएको तर्क राख्दै मिलेर जानुपर्ने बताए ।

‘हामी पहिले एमालेसँग हटेर माओवादीसँग मिलेकै हो । प्रचण्डकी छोरीलाई उठाउँदा विरोध हामीबीच नै भयो । पछि एमाले र माओवादी मिल्न पुगे । चुनाव दुई महिना सार्ने कुरा उठेको हो । तर, हाउस बन्द भएपछि त्यो विकल्प पनि काम लागेन । ढंग नपुगेर पनि हा¥यौँ । मलाई गाली गर्नुको साटो अबको निर्वाचनमा कसरी जित्ने भन्नेतर्फ लाग्नुपर्छ,’ देउवाले भनेका थिए ।