झापा, २४ मंसिर । झापामा रहेको एक विद्यालयले त्यहाँ अध्ययनरत विपन्न तथा दलित जनजातीका बालबालिकाका लागि न्यानो लुगा उपलब्ध गराउन सार्वजनिक अपिल गरेको छ । झापाको बुद्धशान्ती गाउँपालिकामा रहेको श्री शिशु सुधार आधारभुत विद्यालयले त्यहाँ अध्ययनरत बालबालिकाका लागि न्यानो कपडा उपलब्ध गराउन आग्रह गरेको हो ।

झापाका स्थायी बासिन्दा भई काठमाण्डौमा विभिन्न पेशा ब्यवसायी गरी बसेकाहरुको संगठन झापा सेवा समाजलाई पत्र लेखि सो विद्यालयले बालबालिकाका लागि सहयोग गर्न आग्रह गरेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

झापा सेवा समाजले मुलुकमा भएका दैवि प्रकोप तथा आपतकालिन अवस्थामा सेवा, सहयोग र उद्यारको काम गर्दै आएको छ । सो कुराको जानकारी पाएको विद्यालयले पत्र लेखेरै बालबालिकाको लागि सहयोग गर्न आग्रह गरेको हो ।

विद्यालयमा रहेका ८० त्यस्ता बालबालिका जो जाडोमा लगाउने लुगाको अभावले विद्यालय आउन नसक्ने भएकाले उनीहरुलाई सहयोग गर्न विद्यालयले आग्रह गरेको झापा सेवा समाजका अध्यक्ष लक्ष्मण भण्डारीले बताए । विपन्न, दलित र जनजातिका बालबालिकालाई लक्षित गरि स्थापना गरिएको सो स्याहार केन्द्रले २०३४ साल देखि सेवा दिंदै आएको छ ।

विद्यालय ब्यवस्थापन समितिको बैठकवाट नै ति बालबालिकाहरुलाई सहयोग माग गर्ने निर्णय भएको विद्यालयले पठाएको पत्रका उल्लेख छ । साथै सो विद्यालयले बालबालिकाहरुका लागि खेलकुद सामग्री समेत उपलब्ध गराउन विभिन्न संघ संस्था र इच्छुकहरुसंग आग्रह गरेको छ । विपन्न, दलित र जनजातीका बालबालिकाहरुले पढ्ने विद्यालयमा कुनै दाता वा संघसंस्थाको आँखा नपरेका कारण विद्यार्थीहरुको अवस्था समेत नाजुक भएकाले खेलकुद सामग्री समेत सहयोग गर्न विद्यालयले आह्वान गरेको छ ।