पुष्पराज अधिकारी हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले केपी ओली सरकार दुई तिहाइ हुदाँ पनि अलोकप्रिय र असफल हुदैं गएको प्रति चिन्ता व्यक्त गर्नुभएको छ । प्रदेश ३ स्तरीय प्रशिक्षण तथा सम्मेलन कार्यक्रमलाई उद्घाटन गर्दै अध्यक्ष थापाले सरकार अपराध नियन्त्रण, सुशासन कायम गर्न र राष्ट्रिय पहिचान स्थापित गर्न असफल भएको बताउनुभएको हो ।
न्यायपालिका, संवैधानिक अंग, शैक्षिक क्षेत्र पार्टीकरणको चपेटामा परेकोले अहिले सरकारको काम प्रभावकारी हुन नसकेको उहाँको भनाई थियो । मधेसको विषयमा बोल्दै अध्यक्ष थापाले मेधेस नेपालको होइन भन्दै प्ले कार्ड लिएर हिड्दा पनि सरकारले केहि गर्न नसक्नु सरकारको लाचारीपन भएको आरोप लगाउनुभयो । सरकारको गलत कार्यशैलीका कारण राष्ट्र विखण्डन र धार्मिक द्वन्दको खतरा बढेको दावि गर्नुभयो । समृद्ध मुलुकको चर्को नारा दिने सरकारले देश भित्र लगानी भित्र्याउन नसक्नुले उद्योग व्यावसाय वृद्धि हुन नसकको उहाँको तर्क थियो ।
विवादित धर्म प्रचारक संस्थाले आयोजना गरेको कार्यक्रमलाई सरकारले तामझामका साथ सहयोग गरि प्रचार गर्नु जस्तो नालायक काम के होला र भन्दै थापाले यस्तै हो भने नेपालमा धर्मको नाममा द्धन्द हुने बताउनुभयो । फागुन ७ गतेबाट देशभर धर्मको नाममा जनसंघर्ष गरिने समेत उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका बरिष्ठ केन्द्रीय सदस्य रोशन कार्की, तोरणबहादुर गुरुङ, प्रवक्ता भुवन पाठक, सहायक महामन्त्री राजाराम वर्तौला, आदिवासी जनजाति विभाग प्रमुख राजेश लामा, प्रदेश ३ का उपाध्यक्ष निना भेटवाल, मधु अधिकारी, काठमाडौं सभापति नवराज सिम्खडा लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । पार्टीको प्रदेशका जिल्ला, महानगर, नगर र गाउँपालिकाका नेतृत्वको सहभागिता रहेको २ दिने सम्मेलनमा पार्टीको भावी रणनीति, संगठन परिचालन लगायतको बारेमा छलफल हुने जनाईएको छ ।
-जनता समाचार बाट









