आलोक यादव , सिरहा ,२०७५ मंसिर २५ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं - ९ पशुपतिनगरमा व्यक्तिको नाममा रहेको ५ विघा जग्गा नेपाली सेनाले मिचेको आरोप लागेको छ । नेपाली सेनाको पूर्वी पृतना मातहतको श्री नं. २ युद्धकवच गुल्म किसाननगरले स्थानीय जोगेन्द्र महतोलगायतको नाममा रहेको सो जग्गा मिचेको आरोप लागेको हो ।
महतोले भने–‘हामीले यो जग्गा ५० औं वर्षदेखि भोग चलन गर्दै आएका हौं । अहिले आएर नेपाली सेना पिल्लर गाडेको । हामीले भन्दा टेर्दैनन्, उनीहरु राति, दिउँसो जतिबेला मन लाग्यो सयौंको संख्यामा आएर पिलर गाड्छन् तर हाम्रो कुरा मान्दै मान्दैनन् ।’
स्थानीय घुरन महतोका अनुसार सितली देबी महतोको २ विघा, रामप्रताप साहको १ विघा ५ कठ्ठा, रामसोगारथ महतोको १६ कठ्ठा, जोगेन्द्र महतोको ६ कठ्ठा, रेखादेवी यादवको २ कठ्ठा, नवल महतोको ४ कठ्ठा जग्गामा सेनाले जवरजस्ती पिलर गाडेको हो । स्थानीयहरुले नेपाली सेनाले गाडेको पिलर तुरुन्तै उखेल्न चेतावनी दिँदै पिलर नउखिलिए संघर्षको कार्यक्रम अन्तर्गत आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
पूर्खौदेखि किसाननगरका स्थानीय किसानहरुले जोतभोग गर्दै आएको सोही स्थानको २ सय ८२ विघा जग्गाको लालपुर्जा स्थानीयले माग गर्दै आएको समयमा ऐलानी जग्गामा प्रदेश २ को पृतना स्थापनाका लागि सरकारबाट हस्तान्तरण गरिएको थियो । हस्तान्तरणपछि नेपाली सेनाको पृतना स्थापनाको क्रममै हाल स्थानीय किसानहरुको जग्गामा सेनाले पिलर गाडेको हो ।
यता आफ्हरुको नम्बरी जग्गामा सेनाले पिलर गाडेको बर्दिबास नगरपालिकाका मेयर विदुर कार्कीलाई जानकारी गराउँदा समेत कुनै सुनवाई नभएको पीडित रामसोगारथ महतोले दुःखेसो पोखे ।बर्दिबास नगरपालिकाका नगरप्रमुख कार्कीले सेनाले फूटबल ग्राउण्डका लागि ऐलानी जग्गाको आफूसँग स्वीकृति मागेपनि कसैको नम्बरी जग्गामा कब्जा गर्न नपाइने र गरेको भए त्यसलाई हटाउन लगाइने बताए ।










